- भक्तराज रसाइली

काठमाण्डौ । भनिन्छ– ‘संघर्ष नै जीवन हो ।’ रोग, भोक र अभावका बीच नै मानिसले प्रगति गर्ने सिँढी भेटेको हुन्छ । 

नेपाली समाजमा यद्यपि अहिले पनि जेठो छोराका काँधमा पारिवारिक जिम्मेवारी थमाइदिने प्रचलन छ । यही प्रचलन र बाध्यताको भूमरीलाई चिर्दै २८ वर्षकै कलिलो उमेरमा पर्यटन क्षेत्रमा परिचित नाम बनेको छ, शमशेर पराजुली । पराजुलीको जन्मथलो लमजुङ राइनस नगरपालिका हो । हाल उनी काठमाण्डौको नागार्जुनस्थित रानीबनका बासिन्दा हुन् । 

पराजुली ग्लोबल सफारिस नेपाल प्रालि र ग्लोबल होलिडेजका संस्थापकसमेत हुन् । ग्लोबल सफारिस नेपालमा ५ वटा प्रोफेसनल सिकार अनुज्ञापत्र पाउनेमध्ये एउटा हो । ग्लोबल होलिडेले चाहिँ विदेशी पर्यटकहरुलाई पदयात्रा तथा घुमफिर गराउने गर्दछ । 

पराजुलीको समेत लगानीमा लाजिम्पाटमा सम्पदा गार्डेन होटलसमेत सञ्चालनमा ल्याएका छन्। पराजुली अहिले पर्यटन व्यवसायी र होटल व्यवसायीका रुपमा सक्रिय छन् भने सेयर बजारमा समेत उनको लगानीको आंशिक हिस्सा रहेको बताउँछन् । पराजुली हाल एमबीएस, एमए र एलएलबी अध्ययनरत छन् ।

२०६४ साल बैशाखमा उच्च शिक्षाका लागि राजधानी छिरेका पराजुलीको हातमा आमा गुनाकुमारी पराजुलीले  ५ सय रुपैयाँ थमाइदिएका थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण उनी आउनेबित्तिकै ट्रेकिङतिर  लागे ।

उनको आफ्नै मामासँग सिकेर २०६४ सालदेखि २०६९ सालसम्म पोर्टर र गाइडका रुपमा काम गरेका पराजुलीले वैदेशिक रोजगारीमा  जान ५-६ चोटि प्रयास नगरेका होइनन् तर पर्यटन क्षेत्रमा आइसकेपछि पछि त्यस्तो भावना आफैं मरेर गएको उनले बिजशालालाई सुनाए । ‘हिमालले शेर्पा जन्मायो, शेर्पाले  हिमाल जन्मायो तर मेरो घरको बाध्यताले मलाई जातीयताबाहिर गएर काम गर्न बाध्य तुल्यायो’, उनले निकै भावुक हुँदै भने, ‘मैले पोटरको काम गर्दा ६ वर्षसम्म परिवारसँग बसेर दशैं मनाउन पाइनँ । मैले धेरै दुःख गरेँ काम नै प्रमुख प्राथमिकतामा पर्यो, पढाइ चाहिँ दोस्रो ।’

सन् २०१३ मा ग्लोबल सफारिस र ग्लोबल होलिडे दुई कम्पनी स्थापना गरी पर्यटन व्यवसायीका उदाएका पराजुली सेयर बजारमा भने सन् २०१० तिर दोस्रो बजार प्रवेश गरेका रहेछन् ।

पर्यटन क्षेत्रकै व्यवसायी भएकैले उनले सुरुमा तत्कालीन टुरिज्म डेभलपमेन्ट बैंकको ८ सय कित्ता सेयर प्रतिकित्ता रु १५५ हाराहारीमा खरिद गरे । विभिन्न हाइड्रोपावरका प्रमोटर सेयरमा समेत लगानी गरेका पराजुलीले सेयर मार्केट ५–७ जनाको हातमा रहेको आरोप लगाए । कम्पनीको बोर्ड निर्णय  आउन  २–३ महिनाअघि नै ती माफियाहरुलाई थाहा हुने र सोझासाझा लगानीकर्ता उच्च मूल्यमा फस्ने गरेको उनको बुझाइ छ । 

सन् २०१५ सम्म सेयरमा सक्रियता रहेका पराजुलीे आफ्नो पर्यटन व्यवसायमा असर पर्न थालेपछि हाल निष्क्रियताजस्तै छन् । 

बाह्र वर्षअघि अध्ययनलाई अघि बढाउनभन्दा रोजगारी गर्नुपर्ने बाध्यतामा पिल्सिएका पराजुलीले  काठमाण्डौलाई कर्मथलो बनाएर हाल पार्टटाइम जागिर ३५ जनालाई र फुलटाइम ४५ जनालाई रोजगारीसमेत दिइरहेका छन् ।  पर्यटन क्षेत्रमा लागेर उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्डसमेत हात पारेका छन् । 

समाजसेवामा पनि रुचि रहेका पराजुलीले गरेको संघर्षको प्रतिफल अझै पाउन बाँकी रहेको जिकिर गरे । ‘जीवनमा हात बाँधेर बस्न नपरोस्, पराजुलीले भने, ‘पर्यटनमा छिरेपछि यहीँ केही गर्नुपर्छ र देशको सेवा गर्छु भन्ने भावना पलाइरह्यो ।’

टुरिजम सेक्टर ग्ल्यामरस जब रहे पराजुलीको अनुभव छ । ‘सीमारहति लगानी, विभिन्न देशसँग अन्तरक्र्रिया घुमघाम गर्न पाइने भएकाले यो ग्लामरस फिल्ड हो’, पराजुलीले अनुभव सुनाए । 

पराजुलीका बुवालाई कलेजो र फोक्सो रोग लागेर थलिएपछि उपचार गर्दागर्र्दै दुई वर्षसम्म अक्सिजनमा समेत राख्नुपरेको थियो । ‘तर अथक मेहेनतका बाबजुद बुवालाई बचाउन सकिएन’, उनले निराश हुँदै भने। 

परिवारप्रति आज्ञाकारी छोरा र पर्यटनमा कटिबद्ध व्यवसायी बनेका पराजुलीले युवाहरुलाई बिदेश नगई यहीँ पौरख गर्न आग्रह गरे । वैदेशिक रोजगारीले परिवारका अन्य सदस्यहरुलाई समेत अल्छी बनाइरहेको जिकिर गर्दै पराजुुलीले भने, ‘यहीका कारण उत्पादनमा समेत गिरावट आइरहेको छ ।’

देशमा चलेको गृहयुद्धले समेत नेपालीहरु बाध्य भएर विदेश जानुपर्ने अवस्था सिर्जना भएको पराजुलीको बुझाइ छ । यद्यपि नेपालमा कृषि र पर्यटन क्षेत्रमा धेरै सम्भावना भएको पराजुली दाबी गर्छन् ।

पर्यटनमा त अझ अथाह सम्भावना भएकाले युवाहरुले नै पर्यटनलाई अघि बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ । काम गर्दा लडिने तर उठ्ने बानी गर्नुपर्ने थाक्न नहुने पराजुली प्रेरित गर्छन् । 

आफ्नो मामा राजु थापालाई गडफादर मानेका पराजुलीले दिदीबाट समेत धेरै संघर्ष गर्न सिके । सफल बन्न इमान्दारिता, मेहेनत र चातुर्यता आवश्यक रहेको उनको भोगाइ छ ।

आगामी दिनमा स्थापित पर्यटन व्यवसायीका रुपमा चिनिन चाहेका पराजुलीले पर्यटनलाई सरकारले नै नबुझेको आरोप लगाए । इन्डिभिज्युअल कर सिस्टम लागू सरकारले गरेको खण्डमा मेगा कम्पनीहरुले समेत कर तिर्न बाध्य हुने उनको बुझाइ छ । 

पर्यटनमा काम गरिरहेकाहरुलाई पेन्सनको समेत आवश्यकता रहेको पराजुलीले औंल्याए । एयरपोर्ट सुधारदेखि पर्यटन बसपार्कको टड्कारो आवश्यकता रहेको उनले बताए। 

एयरपोर्टको सुधार गरेर र पर्यटकलाई तिब्बती मोडलमा लैजाँदै क्वालिटी पर्यटक ल्याउन जरुरी रहेको पराजुलीको भनाइ छ । प्राकृतिक पदयात्रालाई निरन्तरतासँगै नयाँ–नयाँ पर्यटकीय गन्तव्यको सोधखोज अनुसन्धान सरकारले गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले पर्यटकीय रुटको सम्भाव्यताप्रति सरकार चनाखो हुनुपर्ने सुझावसमेत दिए।