काठमाण्डौ । लामो समयपछि खुलेको बजार गत आइतबारदेखि लयमा फर्किएसँगै आज मंगलबार पनि पौने घन्टामै दोहोरो अंकको उछाल आएको छ।

बजार खुलेको ४५ मिनेटमै नेप्से परिसूचकमा २७.३२ अंकको बढोत्तरीसँगै १३२६.०५ को विन्दुमा पुगेको छ। यो अवधिसम्म कारोबार रकम पनि २१ करोड ३७ लाख रुपैयाँ माथि पुगेको छ। 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सेयरमूलमा आज १० प्रतिशत बढेर पोजेटिभ सर्किट लगेको छ।

लामो समयको लकडाउनपछि अघिल्लो सातादेखि खुलेको बजारमा केही दिन अस्वभाविक उतारचढाव देखिए पनि आइतबारदेखि भने बजारले स्थिरताको बाटो समाएको थियो। त्यही क्रमलाई निरन्तरता दिँदै बजार आज पनि पौने घन्टामै दोहोरो अंकले बढेको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त हुनु, ब्याजदर निरन्तर घट्नु, आगामी आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन कर्जाको सीमालगायतका विषयमा लगानीमैत्री व्यवस्था गर्ने विश्वास बलियो बन्दै जानु, कोभिड–१९ का कारण व्यापारका अन्य क्षेत्र सुनसान हुँदा त्यहाँको लगानीसमेत सेयरबजारमा भित्रिनु, बजार खोल्नुअघि नियामक धितोपत्र बोर्डले सुधारका केही काम गरी लगानीकर्ताको मनोबल उकास्नुलगायतका कारणले बजारमा उछाल आएको हो। 

बजारका लागि आवश्यक वातावरण निकै राम्रो रहेको र उच्च खरिदचाप कायमै रहेकोले बढोत्तरीको यो यात्रा लामो समयसम्म रहन सक्ने बजारका जानकार दाबी गर्छन्।