काठमाण्डौ । भान्सामा अत्याधिक प्रयोग हुने सुकेको प्याजको मूल्य नेपाली बजारमा निकै आकासिएको छ ।

सुकेको प्याजको बढ्दो मूल्य नेपालमात्र होइन भारतसँगै बंगलादेशका जनता पनि अहिले हैरानमा छ ।

सुकेको प्याल नेपाली बजारमा प्रतिकेजी १८० रुपैयाँमा कारोबार भइरहेको छ । भारतमा पनि सुकेको प्याज प्रतिकेजी भारु ८० (नेरु १२८ रुपैयाँ) पुगिसकेको छ ।

उता बंगलादेशमा भने प्याजको भाउले नयाँ रेकर्ड बनाएको छ । त्यहाँ सुकेको प्याज प्रतिकेजी २४० टक (नेरु ३२० रुपैयाँ) पुुगेको छ । जब कि यसअघि बंगलादेशमा प्याजको मूल्य ४० टक (नेरु ५६ रुपैयाँ) भन्दा माथि पुुगेको छैन ।

प्याजको भाउ चर्को भएपछि बंगलादेशमा उपभोक्ताले यसको प्रयोग कम गर्न थालेका छन् । आखिर बंगलादेशमा प्याजको मूल्य बढ्नुको कारण के हो त ?

बीबीसी बांग्ला सेवाकी सहयोगी फरहाना परविनका अनुसार बंगलादेशमा प्याजको मूल्य बढ्नुको प्रमुख कारण भनेको भारतले त्यहाँ प्याज निर्यातमा लगाएको प्रतिबन्ध नै हो ।

बंगलादेशमा आवश्यक लगभग ४० प्रतिशत प्याज दोस्रो मुलुकबाट आयात हुुन्छ । जसको ९० प्रतिशत प्याज भारतले निर्यात गर्दै आएको थियो । यस्तोमा भारतले बंगलादेशमा प्याज पठाउन बन्द गरेपछि त्यसको सीधा असर प्याजको मूल्यमा परेको परविन बताउँछिन् ।

परविनका अनुसार प्याजको मूल्य अत्याधिक वृद्धि हुनको अर्को कारण भनेको त्यहाँका व्यापारले मौज्दात प्याज गोदाममा राखेर कालोबजारी गर्नु पनि हो ।

भारतले बंगलादेशमा प्याज पठाउन प्रतिबन्ध लगाएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमणमा क्रममा यस विषयमा भारतीय अधिकारीहरुसँग कुरा उठाएकी थिइन् । त्यसो त बंगलादेश सरकारले गत सेप्टेम्बरदेखि नै टर्की, म्यानमार, मिस्रजस्ता अन्य मुलुकबाट प्याज आयात गर्न कोसिस गरिरहेको छ । यसका साथै सरकारले प्याज व्यापारीहरुसँग पनि यस विषयमा छलफल गरिरहेको छ ।

बंगलादेश सरकार प्याजको भाउ नियन्त्रण गर्न केही कदम अवश्य उठाइरहेको भए पनि बजारमा त्यसको प्रभाव खासै परेको देखिँदैन । प्याजको भाउ आकासिएसँगै बंगलादेशका आमउपभोक्ता सरकारप्रति आक्रोश पोख्न थालेका छन् ।

भारतले लगाएको प्रतिबन्धका साथै पानी कम पर्दा बंगलादेशमा प्याजको उत्पादन पनि कमी आएको छ । बंगलादेशले देशमा आवश्यक ६० प्रतिशत प्याज उत्पादन गर्दै आएको छ । तर पानी कम पर्दा उत्पादनमा ह्रास आएको छ ।

कृषिविज्ञहरु प्याजमा परनिर्भरत हटाउन बंगलादेश सरकारले प्याज उत्पादनलाई बढावा दिनुपर्ने धारणा राख्छन् । त्यसका लागि किसानहरुलाई प्याज खेतीप्रति आकर्षित गर्न सरकारले विभिन्न योजना ल्याउनुपर्ने उनीहरुको धारणा छ ।