काठमाण्डौ । भारतले प्याज निर्यातमा लगाएका रोकको फाइदा उठाउँदै प्याजको कालोबजारमा संलग्न रहेको आरोपमा बुधबार बिहान काठमाण्डौको बल्खु बजारबाट एक व्यापारी पक्राउ परेका छन्। 

प्याजको कृत्रिम अभाव गराई चर्को मूल्य असुलिरहेको गुनासो बढ्न थालेपछि काठमाण्डौ महानगरपालिकाको अनुमगन टोलीले बिहानै बल्खु बजारमा अनुगमन गरेको थियो। सोही क्रममा बढी मूल्यमा प्याज बिक्री गरेको अवस्थामा व्यापारी सुनील केसीलाई पक्राउ गरेको हो।

टोलीले केसीको गोदाममा लुकाएर राखिएको २४० बोरा प्याज पनि बरामद गरेको छ। केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको जिम्मा लगाइएको टोलीले जनाएको छ। 

अनुगमन टोलीले बल्खु बजारका अन्य ७ वटा पसललाई बढी मूल्यमा प्याज बिक्री गरेको आरोपमा वाणिज्य विभागमा हाजिर भएर जरिवाना तिर्न भन्दै पुर्जी काटेको छ। 

भारतले आन्तरिक बजारको माग अधिक भएको भन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा दुई दिनकै अवधिमा प्याजको भाउ दोब्बर भएको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक मूल्यसूचीअनुसार गत सोमबारसम्म प्रतिकेजी भारतीय सुकेको प्याजको मूल्य औसत ६० रुपैयाँ रहेको थियो। भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टै मंगलबार थोकमूल्यमा २५ प्रतिशत बढेर प्याजको भाउ प्रतिकेजी औसत ७५ रुपैयाँ कायम भएको थियो।

आजको थोक मूल्यसूचीअनुसार भने प्याजको मूल्य झन्डै ६० प्रतिशतले बढेर प्रतिकेजी औसत ११९ रुपैयाँ पुगेको छ। यो हिसाबले नेपाली बजारमा प्याजको मूल्य दुई दिनमै दोब्बर भएको छ।