काठमाण्डौ । लगानीकर्ताका संघसंगठनका प्रतिनिधिसँग छलफल गरी उनीहरुको आशय अनुसार दोश्रो बजारमा सेयर खरीद गर्दा प्यान नम्बर अनिवार्य लिनुपर्ने समय सीमाको बिषयमा लचक बन्न सकिने आशयको पत्र धितोपत्र बोर्डलाई पठाएको नेप्से यो मुद्धाबाट यूटर्न भएको छ । 

नेप्सेले आन्तरिक धितोपत्र दलाल व्यवसायीहरुलाई प्यान नम्बर लिने कार्यमा सहजताका लागि सहजीकरण डेस्क स्थापना गर्न आग्रह गरेको हो ।

लगानीकर्तासँगको छलफलमा समेत आगामी बैशाख १ गतेदेखि प्यान नम्बर अनिवार्य लागू गर्ने विषयमा केही लचक बन्नुपर्ने तर्कसँग सहमत देखिएका नेप्सेका पदाधिकारी अर्थमन्त्रालयको दवाबपछि यूटर्न भएका बुझिएको छ ।

अर्थमन्त्रालयले २०७६ बैशाख १ गतेदेखि सेयर खरीद गर्दा प्यान म्बर लिनुपर्ने व्यवस्थालाई अनिवार्य गर्ने विषय बजेट, नीति तथा कार्यक्रममै समेटिएकोले यसमा समयसीमा हेरफेर गर्न नसकिने भन्दै सो अनुसार गराउन धितोपत्र बोर्डलाई दवाब दिएको थियो । 

बोर्डले समेत अर्थमन्त्रालयको दवाब अनुसार नेप्सेलाई लगानीकर्ताका नेताको कुरा सुन्ने भन्दा पनि सरकारले लिएको नीति कार्यान्वयनमा सहजीकरण गर्न कडा निर्देशन दिएपछि नेप्से यसको कार्यान्वयनको व्यवस्थापनका लागि तातेको हो । 

नेप्सेको सुपरीवेक्षण शाखाले सेयर दलालहरुलाई पत्र लेख्दै अर्थमन्त्रालय अन्तरगतको आन्तरिक राजश्व विभागको वेबसाइटमार्फत तोकिए बमोजिम स्थायी लेखा नम्बर लिन दर्ता प्रक्रियाका लागि निवेदन दिन चाहेमा लगानीकर्तालाई सहजीकरण गर्न भनेको छ ।