काठमाण्डौ । सेयर लगानीकर्तासँग सम्बद्ध अस्तित्वमा रहेका पाँचवटै संगठनले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताले प्यान अनिवार्य लिनुपर्ने भनी गर्न लागिएको व्यवस्थाप्रति असहमति जनाए पनि कारोबार गर्दा प्यान लिनुपर्ने विषय चाहि राम्रो रहेको निश्कर्ष निकालेका छन् । 

उनीहरुले पहिला आवश्यक अध्ययन गर्न र स्थायी लेखा नम्बरको विषयमा पर्याप्त जनचेतना फैलाएर मात्र सेयर खरीदमा प्यानलाई अनिवार्य गर्न आग्रह गरेका हुन् । 

सेयर बजारमा लगानी गर्दै आएका लगानीकर्ताहरुले तिरेको पूँजीगत लाभकर अन्तिम कर भएको अर्थमन्त्रालयका अधिकारीहरुले भन्दै आएको सन्दर्भमा सेयर लगानीकर्ताले गरेको कारोबार, कर तिरेको विवरण र प्रमाण समेत सुरक्षित हुने प्यानको व्यवस्था राम्रो हो । पाँचवटै संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘तर अध्ययन र पूर्व तयारी गरी लगानीकर्तामा जनचेतना जगाउँदै स्वेच्छिक रुपमा प्यान लगाउने के कस्तो व्यवस्था गर्ने हो ? सो समेत गरी कुनै पनि लगानीकर्ता र पूँजीबजारको अहित नहुने गरी कार्यान्वयमा जानुपर्दछ ।’ 

लगानीकर्ताहरुले प्यानको बिषयलाई अहिले बजार सुधारका लागि मुख्य विषय नबाउन र यसलाई दूर दीर्घकालको कार्यसूचिमा राख्न समेत सम्बद्ध निकायलाई आह्वान गरेका छन् । 

लगानीकर्ताका संगठनले पनि नेप्सेले झै प्यानको बिषयलाई लिएर आम लगानीकर्ता भ्रमित, आतकिंत, अन्यौलग्रस्त नहुने र स्वविवेक प्रयोग गरी निर्धक्क भएर कारोबार गर्न समेत आह्वान गरेका छन् । 

विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता दवाब समूह, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

लगानीकर्ताका संघसंगठनका प्रतिनिधिले नेप्सेका अधिकारीहरुसँग छलफल बसिसकेपछि त्यहाँ भएको सहमतिको आशयलाई समेत समावेश गरी विज्ञप्ति जारी गरेका हुन् ।