काठमाण्डौ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई झड्का लागेको छ । छोरी रेणुु दाहालले हार्ने अवस्था हुँदै गर्दा उनकै वडामा समेत एमालेले जितको झण्डा फहराइदिएको छ । 

प्रचण्डको आफ्नो वडा भरतपुर महानगरपालिकाको वडानम्बर ४ बाटै उनले स्थानीय निर्वाचनमा भरतपुरको पहिलो मत खसालेका थिए । उनका अन्य परिवारजनले समेत सोही वडाबाट मत हालेका थिए । प्रचण्डले यही वडाको लक्ष्मी मावि लंकुुबाट मत खसालेका थिए । 

तर प्रचण्डकै वडामा समेत माओवादी बिरासत जोगिएन । प्रचण्डको पुत्रीमोहबाट रुष्ट स्थानीय कार्यकर्ताले एमालेका वडाअध्यक्षका उम्मेद्वारलाई मत हाल्दा आफ्नै वडामा समेत माओवादीले हार व्यहोर्नुपरेको हो । 

भरतपुर ४ बाट एमालेका उम्मेद्वार हरि आचार्य विजयी भएका छन् । उनले ७ मतको अन्तरले कांग्रेसका उपेन्द्रराज सापकोटालाई पछारेका हुन् । आचार्यले १ हजार ७ सय २० मत प्राप्त गरे भने सापकोटाले १ हजार ७ सय १३ मत प्राप्त गरे । 

रोचक त यो भएको छ कि प्रचण्डपुत्रीलाई वडानम्बर ४ बाट कांग्रेसको भन्दा निकै कम मत आएको छ । यो वडानमा माओवादीबाटै पनि रेणुलाई अन्तरघात भएको आशंका गरिएको छ ।