नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधिन आयोजनाहरुलाई अगाडि बढाउन संयुक्त अनुगमन संयन्त्र बनाउन भारतीय सकमक्षी नरेन्द्र मोदीसँग प्रस्ताव गरेका छन् । 

प्रधानमन्त्री दाहालले शुक्रबार यहाँ गरेका सम्बोधनमा निर्माणको क्रममा रहेका आयोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन त्यस खालको संयन्त्रको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने–‘हामीले निर्माणका क्रममा रहेका परियोजना अगाडि बढाउन एउटा संयुक्त संयन्त्र जरुरी रहेको विषयमा कुराकानी ग¥यौ । त्यसमा चार वटा एकीकृत जाँच चौकी, पाँच वटा अन्तरदेशिय रेल्वे लाइन र हुलाकी सडक रहेका छन् ।’

यस्तै नेपालको ऊर्जा क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिदै प्रधानमन्त्रीले दुई वर्ष पहिले दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौतालाई कार्यान्वयन गर्ने, नेपाल र भारतबीच ऊर्जाको क्षेत्रमा भएको सहकार्यलाई अगाडि बढाउने, विद्युतको खुला बजारको मागलाई सहजीकरण गर्न नीति तथा कानुनमा सहजीकरण गर्ने विषयमा छलफल भएको जानकारी दिए । 

प्रधानमन्त्रीले भने–‘पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई शीघ्र अन्तिम रुप दिएर परियोजना अगाडि बढाउन सहमत भएका छौ ।’

यस्तै दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको बुटवल गोरखपुर अन्तरदेशिय प्रसारण लाइनलाई अगाडि बढाउने र नेपालले भोग्नुपरेको ऊर्जा संकटलाई समाधान गर्न अल्पकालीनरुपमा विद्युत् उपलब्ध गराउन भारत सरकारसँग आग्रह गरिएको प्रधानमन्त्रीले जानकारी दिए ।

व्यापार, पारवहन तथा सम्पर्क सञ्जाल नेपालको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दैै प्रधानमन्त्रीले आफ्ना सकमक्षीसँग नेपालको चुलिँदो व्यापारघाटालाई कम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । 
नेपालको निर्यातभन्दा आयात दश गुणा बढी रहेको भन्दै प्रधानमन्त्रीले व्यापार घाटालाई सन्तुलनमा ल्याउन नेपाल सरकारले भारतका उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गरिएको बताए । 

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थप तीनवटा हवाई मार्ग दिनसमेत आग्रह गरेका थिए । सो विषयमा नागरिक उड्डयन प्राधिकरणले आगामी बैठकमा थप छलफल गरेर आवश्यक निर्णय लिने प्रधानमन्त्री दाहालको विश्वास छ । 

यस्तै सीमापार अपराध नियन्त्रण, दशगजा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्दै बृहत्तर सहयोग र विश्वासलाई बढावा दिँदै अगाडि बढ्ने विषयमा दुई देशबीच समान धारणा बनाएर अगाडि बढने विषयमा महत्वपूर्ण छलफल भएको प्रधानमन्त्रीको भनाइ थियो । 

विश्वव्यापीरुपमा भारत उदाउँदो अर्थतन्त्रको रुपमा स्थापित हुँदै गएको, सफल एवम् वृहद लोकतन्त्रको महत्वपूर्ण अभ्यास गरेको सन्दर्भमा भारतीय पक्षबाट नेपालको समृद्धि र विकासमा महत्वपूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।