चितवन । हरेक वर्ष प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा सोमबारदेखि फुड फेस्टिबल सुरु भएको छ ।

प्रेम दिवसलाई बिशेष बनाउन चितवनको सौराहामा फुड फेष्टिवल सुरु भएको हो । 

सौराहाका व्यवसायीले अधिराज्यभरबाट सौराहा आउने अतिथिका लागि विभिन्न प्रकार र स्वादको खाना खुवाएर स्वागत गर्ने गरेका छन् ।

फागुन ३ गतेसम्म सञ्चालन हुने १३औँ संस्करणको फुड फेस्टिबलको सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे । 

सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको फुड फेस्टिबलले आन्तरिक तथा वाह्य पर्यटकलाई सौराहामा केन्द्रित गर्न मद्दत पुग्ने पाण्डेले बताए । पर्यटकको आगमन कम हुने समयमा निजी क्षेत्रबाट पर्यटकीय गतिविधि बढाउनका लागि आयोजना गरिने क्रियाकलापलाई सरकारले सहयोग गर्नुपर्नेमा पाण्डेले जोड दिए ।

यसपटकदेखि निशुल्क प्रवेशको व्यवस्था गरिएको फुड फेस्टिबलमा विभिन्न जातजातिसँग सम्बन्धित ४० वटा खानाका स्टलहरु रहेका रेष्टुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।

गत वर्षहरुमा फुड फेस्टिबल अवलोकनका लागि समेत शुल्क तिर्नुपर्ने भए पनि यसपटक भने फागुन २ गते मात्रै टिकट काट्नुपर्ने गरी फुड फेस्टिबल आयोजना गरिएको गिरीले बताए । महोत्सवबाट खर्च कटाएर बचत भएको पैसालाई उज्यालो सौराहा तथा घुम्ती शौचालय निर्माणका लागि प्रयोग गरिने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए ।

फेष्टिवलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने यहाँका व्यवसायीले विश्वास लिएका छन् । नेपालका सबै जातजातिको खानाका परिकार देखि अन्तराष्ट्रिय स्तरका खानाको परिकारसहितको स्वाद लिदै फुड फेष्टिवलमा ५ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने सौराहाका होटल व्यवसायीले विश्वास लिएका छन् ।

यसपटकदेखि फेस्टिबललाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरिएको उल्लेख गर्दै संयोजक गिरीले आगामी पाँच वर्षभित्रमा फेस्टिबललाई पूर्ण प्लाष्टिकमुक्त महोत्सवको रुपमा विकास गरिने बताए ।

साथै उनले यस पटकको आम्दानीबाट आर्थीक अभावमा परी विद्यालय जान नसकेका विद्यार्थीलाई सहयोगार्थ कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तर दिने, घुम्ती शौचालय राख्ने, सौराहाको सरसफाईको सवालमा ५ प्रतिशत रकम विनियोजन गरिने बताए ।

सौराहाका होटल व्यवसायीले यसरी वर्षेनी गरिने फेस्टिबलको आम्दानीको पाटो सामाजीका कार्यको हिस्सा बनेको छ ।

फेष्टिवलमा ५० भन्दा बढी खानाका स्टल र विभिन्न प्रर्दशनी स्टल रहेका छन् । नेपालमा आउने कुल पर्यटनको २२ प्रतिशत यहाँ आउने गरेका छन् । बार्षिक २ भन्दा बढी पर्यटनहरु चितवनमा आउने गरेकोमा त्यसको ८० प्रतिशत पर्यटन सौराहा आउने गरेका छन् ।

१ सय १० होटल ८५ रेष्टुरेन्ट रहेको यस क्षेत्रमा पर्यटनहरु जंगल सफारी, हात्ती सफारी, जीप सफारी, ढुङ्गा सयर गर्नको लागि सौराहा आउने गर्दछन् । सौराहामा पर्यटन आउँदा कहिल्यै पनि नर्बिसने गरी थारु सांस्कृतिक प्रर्दशनीले पनि महत्वपूर्ण टेवा पुग्ने गर्दछ । 

चितवन राष्ट्रिय निकुञ्जको मूख्य प्रबेशद्धार समेत सौरहामा पर्ने भएकोले पनि निकुञ्ज अबलोनलागी आउने पर्यटन समेत सौराहामा बस्ने गरेका छन् ।