काठमाण्डौ । थोरै पूूँजी भएका घरपरिवारले समेत जलविद्युत आयोजनामा लगानीको अवसर पाउने भएका छन् । त्यति मात्र होइन, पैसा नै नभएका अति विपन्न परिवार समेत जलविद्युत आयोजनाको सेयरधनी हुन पाउनेछन् । 

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले शनिवार दोलखाको चरिकोटमा आयोजित एक कार्यक्रममार्फत अब सरकारले जलविद्युत आयोजनाहरुमा हरेक घरपरिवारलाई कम्तीमा १ हजार कित्ता सेयरमा लगानीको अवसर दिइने घोषणा गरेका हुन् । उनले विपन्न परिवारलाई सरकारकै पहलमा बैंकबाट ऋण दिलाएर सो रकम बराबरको श्रम सो परिवारले गरे पुुग्ने नीति समेत आउन लागेको जानकारी दिएका हुन् । 

उनको घोषणा अनुसार हरेक घरपरिवारले जलविद्युत आयोजनाहरुमा न्यूनतम १ लाख रुपैयाँसम्म लगानी गर्न पाउनेछन् । 

नेकपा माओवादी केन्द्रले दोलखाको चरिकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपैँयाको १ हजार कित्ता सेयर लगानी गर्न पाउने व्यवस्थासहितको कार्यविधि तयार भइरहेको बताए । 

उर्जामन्त्री शर्माले त्यस्तो कार्यक्रममा सहभागी हुन जनतालाई आह्वान गर्दै एक लाख रुपैयाँ एकै पटक दिन नसक्नेहरुका लागि वार्षिक २० हजारको दरले ५ वर्षसम्म भुक्तान गरिसक्ने सुविधा समेत दिने गरी नीति बनाउन लागिएको प्रष्ट्याए ।

त्यति मात्र होइन, एक लाख रुपैयाँ सेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने पनि उनले घोषणा गरेका छन् । मन्त्री शर्माले भने “लगानीसम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन, फाराम भर्नुहोला ।”

मन्त्री शर्माले अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि गरिएको जानकारी दिए  । प्रति कित्ता सेयरको एक सय रुपैयाँ पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंयाँ तिरेर एक कित्ता शेयर किन्ने व्यवस्था मिलाईने उनले बताए । नेपालको पानी जनताको लगानी अन्तरतगत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको सेयर रहने नीति बनाइएको उनले प्रष्ट्याए ।