काठमाण्डौ । सरकारले पुनरसंरचनापछि गठन भएका देशभरका प्रत्येक गाउँपालिका र नगरपालिकामा बैंकहरुले शाखा बिस्तार गर्नुपर्ने नीति लिएको छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वाणिज्य बैंक तथा बैंकहरुले प्रत्येक गाउँपालिका र नगरपालिकाहरुमा शाखा बिस्तार गर्नुपर्ने व्यवस्था गरेका हुन् । 

सरकारको यो नीतिसँगै बैंकहरुबीच गाउँपालिका तथा नगरपालिकाहरुमा शाखा बिस्तारको होडबाजी चल्ने देखिन्छ । यसले बित्तीय चेतनाको अभिवृद्धिसँगै बचत गर्ने बानी बसाल्ने र सर्वसाधारणको जीवनस्तर समेत माथि उक्सिने अपेक्षा गरिएको छ । 

सरकारले बजेटमार्फत सबै नेपालीको बैंक खाता हुनुपर्ने अघिल्लो बजेटको नीतिलाई निरन्तरता दिंदै बित्तीय साक्षरता कार्यक्रमलाई समेत निरन्तरता दिइने घोषणा गरेको छ । बजेटले अन्तराष्ट्रिय व्यापारको भुक्तानी अनलाइनबाट गर्ने व्यवस्था मिलाउने भनेको छ भने अनलाइन खरीदबिक्री वा  भुक्तानीको नाममा अबैध रुपमा भइरहेको कारोबारलाई निस्तेज पार्ने नीति लिएको छ ।