काठमाण्डौ । यी व्यक्तिको सम्पत्ति प्रत्येक घण्टा २४ करोड रुपैयाँ बढिरहेको छ । बितेको एक वर्षको दौरान यी व्यक्तिको सम्पत्ति विश्वमै सबैभन्दा धेरै बढेको छ । यसकारण पनि धेरै विश्लेषकहरुले भन्न थालेका छन् कि आगामी केही वर्षमै यी व्यक्तिले विश्वकै धनी बिल गेट्सलाई समेत पछि पारिदिनेछन् र विश्वकै सबैभन्दा धनी व्यक्तिको ताज पहिरिनेछन् । हो, हामी अमेजन डटकमका संस्थापक जेफ बिजोसको कुरा गरिरहेका छौ । 

विश्वमै धेरै बढ्यो सम्पत्ति
बिजोस यस्ता व्यक्ति हुन्, जसको बितेको एक वर्षको अवधिमा विश्वमै सबैभन्दा धेरै सम्पत्ति वृद्धि भयो । एकवर्षको अवधिमा उनको सम्पत्ति करिब २० अर्ब डलर वृद्धि भएको छ । यो आश्चर्यलाग्दो वृद्धिपछि उनको कुल सम्पत्ति ८५ अर्ब डलरको उचाईमा पुुगेको छ । बिल गेट्सको कुल सम्पत्ति ८९ अर्ब डलर रहेको छ । 

प्रत्येक घण्टाको कमाई १५ करोड
बिजोसको सम्पत्तिको आँकलन गर्ने हो भने बितेको एक वर्षमा उनको सम्पत्तिमा करिब २० अर्ब डलरको बढोत्तरी भयो । नेपाली रुपैयाँमा यसलाई हिसाब गर्दा प्रत्येक घण्टा उनले २४ करोड कमाएका रहेछन् । उता, बिल गेट्सको सम्पत्ति चाहि बितेको एक वर्षको अवधिमा ६.५१ अर्ब डलरले मात्र बढ्यो । यो हिसाबले बिल गेट्सले हरेक घण्टा ८ करोड रुपैयाँ मात्र कमाउँदा रहेछन् । यसरी हेर्दा बिजोसको सम्पत्ति बिल गेट्सको वृद्धिदर भन्दा तीनगुणाले बढिरहेको छ । यही रफ्तार कायम रहे गेट्सलाई बिजोसले भेट्याउन त्यति धेरै समय कुर्नुुपर्ने छैन । 

बिजोसलाई पनि कोही टक्कर दिइरहेको छ....!!


बिजोसलाई पनि अर्का एक व्यक्तिले टक्कर दिइरहेका छन् । ती व्यक्ति हुन् स्पेनका अर्बपति अमेन्सियो आर्टिगा । आर्टिगा यसबेला विश्वकै तेश्रो धनी व्यक्ति हुन् । कुल सम्पत्तिको मामलामा उनी पनि बिजोस भन्दा धेरै पछि छैनन् । उनको कुल सम्पत्ति ८४.७ अर्ब डलर रहेको छ । आर्टिगाको सम्पत्ति बितेको एक वर्षमा १२.६ अर्ब डलरले वृद्धि भएको छ । यसरी बितेको एक वर्षको वृद्धिलाई हेर्दा आर्टिगाले पनि प्रत्येक घण्टा १५ करोड रुपैयाँ सम्पत्ति कमाइरहेका छन् । 

प्रश्न उठाइएको थियो अमेजनमाथि
सन् १९९४ मा जब जेफ बिजोसले अनलाइन रिटेल कम्पनी अमेजनको सुरुवात गरेका थिए, तब उनको बिजिनेसप्रति धेरैले प्रश्न उठाएका थिए । न्यूूयोर्क टाइम्सले त्यसबेला भनेको थियो कि बिजोसले इन्टरनेटलाई बढाई चढाई पेश गरिरहेका छन् । त्यसबेला २ करोड मानिसले मात्र इन्टरनेटको प्रयोग गर्ने गरेका भन्दै उनको विजिनेश नै फेल हुनेसम्मको तर्क गरिएको थियो । न्यूूयोर्क टाइम्सले अमेजनलाई अनलाइन प्रोजेक्ट्समा पैसाको बर्बादीको संज्ञा दिएको थियो । 
तर बिजोसले त्यस्ता आशंकाहरुलाई निमिट्यान्न पार्दै आफ्नै विजिनेशको विश्व खडा गरिदिए । यहीकारण आज उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बन्ने दिशातर्फ अगाडि बढिरहेका छन् । 

१ लाख बढी पुुग्यो अमेजनको सेयर मूल्य
अमेजन कम्पनीको सेयर पहिलोपटक १ हजार अमेरिकी डलर अर्थात १ लाख बढी रुपैयाँको स्तरमा पुुगेको छ । एकवर्षअघि यो कम्पनीको सेयर ७ सय डलरको आसपास थियो । यो हिसाबले हेर्दा अमेजनको सेयर एकवर्षको अवधिमा करिब ४० प्रतिशतले वृद्धि भएको छ ।