काठमाडौं। प्रत्येक नेपाली जलविद्युत कम्पनीको सेयरधनी बन्न पाउने सरकारको महत्वकांक्षी कार्यक्रम ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ शुभारम्भ भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच राष्ट्रिय सभागृहबाट यो महत्वकांक्षी कार्यक्रमको सुरुवात गरेका हुन् । 

सरकारले चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममै यो कार्यक्रमलाई समावेश गरेको थियो । आर्थिक वर्षको आधा बढी समय बितिसकेपछि ओलीले सरकारको बागडोर सम्हालेको एकवर्ष पुगेको अवसरमा शुभारम्भ गरेका हुन् । 

सो कार्यक्रम शुभारम्भ समारोहमा ओलीले प्रत्येक नेपालीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न यो कार्यक्रम थालिएको बताए । यो कार्यक्रमले सबै नेपालीलाई समेट्ने छ र सबैको सानो सानो लगानी बटूलेर महत्वकांक्षीजस्तो देखिने ठूला जलविद्युत आयोजना निर्माण गर्नेछ । 

सरकारले यो अभियान अन्तर्गत ५ वर्षभित्रै १९ आयोजनाबाट ३ हजार ४७९ मेगावाट विद्युत आयोजनाको निर्माण थालिनेछ । यी आयोजनामा कुल ६ खर्ब ९५ अर्ब ८० करोड लगानी गर्ने बताइएको छ । यसमध्ये ७० प्रतिशत ऋण लगानी हुनेछ भने बाँकी ३० प्रतिशत स्वपूँजी हुनेछ । 

यी सबै आयोजनाहरुमा नेपाली जनताको ४९ प्रतिशत सेयर हुनेछ र बाँकी ५१ प्रतिशत सेयर सरकारको हुनेछ ।