काठमाण्डौ । दोश्रो चरणको प्रदेशसभा निर्वाचन सकिएलगत्तै बाम गठबन्धनले सुनसरीमा लज्जास्पद हार व्यहोरेपछि एमाले सचिव भीम आचार्यमाथि टिकट बिक्री गरेर गठबन्धनलाई हराएको संगीन आरोप लागेको छ । 

आचार्यले सुनसरी निर्वाचन क्षेत्रनम्बर ४ मा कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टिकट बिक्री गरेको आरोप लगाउँदै इटहरीमा एमाले र माओवादीका युवाहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । 

बिहीबार भएको प्रदर्शनमा उनीहरुले भीम आचार्यलाई टिकट बेचुवाको संज्ञा दिंदै मुख्यमन्त्री समेत हुन नपाउने दाबी गरेका हुन् । 

एमाले सचिव भीम आचार्य यसअघिका निर्वाचनहरुमा प्रतिनिधिसभा सदस्यमा सुनसरी निर्वाचन क्षेत्रनम्बर ४ बाट उठ्दै आएका थिए । तर, १ नम्बर प्रदेशको मुख्यमन्त्री हुने भन्दै उनी क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए । आफ्नो क्षेत्र छाडेर १ नम्बरमा चुनाव लड्न गएदेखि नै आचार्यमाथि पार्टीविरुद्ध अन्तर्घात गरेको र टिकट बिक्री गरेको आरोप लाग्दै आएको छ । 

आचार्यले सुनसरी निर्वाचन क्षेत्रनम्बर ४ मा पूर्वपञ्च समेत रहेका र केही समयअघि एमाले प्रवेश गरेका रमेश श्रेष्ठलाई सुनियोजित रुपमै एमालेबाट उठाइएको र यसको एक मात्र उद्देश्य ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताउनुु रहेको दाबी एमालेकै नेता तथा कार्यकर्ताहरुले गर्दै आएका छन् । 

आचार्यकै सेटिंगमा सुनसरी क्षेत्रनम्बर २ मा समेत माओवादी उम्मेद्वारलाई टिकट दिएर तत्कालीन सांसद रेवतीरमण भण्डारीलाई पाखा लगाइएको आरोप समेत लाग्दै आएको छ । भण्डारीले संविधानसभाको दोश्रो निर्वाचनमा क्षेत्रनम्बर २ बाट शानदार जित हासिल गरेका थिए । तर, यो पटकको निर्वाचनमा क्षेत्रनम्बर २ मा कांग्रेसका सीताराम मेहेताले शानदार जित हासिल गरेका छन् । यसमा समेत मेहेतासँग आचार्यले सेटिंग मिलाएको गम्भीर आरोप लागेको छ । 

एकातिर रेवतीरमण भण्डारी र उनका निकटस्थहरुले आचार्यविरुद्ध अनर्गल प्रचार गराइरहेका आचार्य समर्थकहरुको आरोप छ भने सडकमै आचार्यविरुद्ध नाराबाजी भएपछि यसले एमालेभित्रै भाँडभैलो हुने संकेत देखिएको छ । 

प्रदेश नम्बर १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्य बलिया दाबेदार हुन् । तर, पछिल्लो समय अर्का एमाले नेता शेरधन राईले समेत मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । आचार्य निकटहरुले रेवतीरमण भण्डारीसँग मिलेर शेरधन राईका समर्थकहरुले सुनियोजित रुपमा नाराबाजी र प्रदर्शन गरी हिलो छ्याप्ने खेलको सुरुवात गरेका आरोप लगाएका छन् । 

आचार्य निकटका एक नेताले सुनसरी २ नम्बर क्षेत्र माओवादीलाई दिएको र आफूलाई टिकट नदिएको रीसमा रेवतीरमण भण्डारी लगायतका नेताहरुको असहयोगले बामगठबन्धन हार्नु परेको दाबी गरे । ती नेताका अनुसार यही कारण बाम गठबन्धनको चुनावी अभियानमा निकै कम मात्र भण्डारीको सहभागिता रहेको थियो । आफूलाई टिकट नदिए २ नम्बर क्षेत्र गुम्ने भन्दै सार्वजनिक टिप्पणी नै गरेका भण्डारीकै अन्तर्घात र असहयोगका कारण बाम गठबन्धनले २ नम्बर क्षेत्र गुमाउनुपरेको दाबी समेत आचार्य निकटस्थहरुको छ । 

भण्डारी पक्षधरहरुले भने प्रदेश १ को मुख्यमन्त्री शेरधन राई हुनुपर्ने जिकिर गर्न थालिसकेका छन् । यसरी मुख्यमन्त्रीको बिषयलाई लिएर उत्पन्न विवादले एमालेभित्र निकै ठूलो भाँडभैलो मच्चिने संभावना देखिन्छ । 

स्रोतका अनुसार भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा माओवादी अध्यक्ष प्रचण्डको समेत आशिर्वाद रहेका कारण उनी ढुक्क देखिन्छन् । 

भिडियो हेनुहोस् :