विराटनगर । विगतमा बन्दहड्तालको खुलेरै विरोध गर्ने र सडक संघर्ष समेत गर्न पछि नपर्ने विराटनगरका उद्योगी व्यवसायीले यसपटक भने सोमबारदेखि जारी अनिश्चितकालीन विराटनगर बन्दको समर्थनमा उत्रिएका छन् । 
 
प्रदेश १ को पूर्ण राजधानी विराटनगर हुनुपर्ने माग गर्दै स्थानीय दलहरुले सोमबारदेखि विराटनगर बन्द कार्यक्रम आह्वान गरेको थियो । 
 
राजधानीका लागि आवश्यक सबै संरचना विराटनगरभन्दा बाहिर जान नहुने स्थानीय दलहरुको अनौठो अडानमा व्यापारी र उद्योगीले समेत आँखा चिम्लिएर समर्थन गरेका देखिएको हो । 
 
बैंकको ब्याजदर लगायतका विषयमा केही समयअघि आन्दोलन थालेर देशभर नाम कमाएको मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगका अधिकारीहरुले बन्द समर्थनको अगुवाई गरेका छन्। 
 
सोमबार मोरंग व्यापार संघको सभाहलमा बसेको निजी क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्ने उद्योगी व्यवसायीका संघ–संगठन, विभिन्न ट्रेड युनियनका संघ–संगठन एवं सम्बद्ध निकायहरुको संयुक्त बैठकले प्रदेश नं. १ को राजधानीका विषयमा बृहत छलफल गरी एक मतले प्रदेश नं. १ को राजधानी विराटनगरलाई नै कायम गर्न माग गद मुख्य मन्त्री शेरधन राईलाई विभिन्न पार्टीका नेता–प्रतिनिधि एवं मन्त्री परिषद्का सबै मन्त्रीहरुको उपस्थितिमा ३ बुँदे माग राख्दै राख्दै निवेदन पत्रसमेत बुझाएको छ ।
 
उनीहरुले विराटनगरलाई पूर्ण राजधानी कायम गर्न, संघर्ष समितिले विराटनगरलाई राजधानी बनाउने विषयमा अनिश्चितकालिन बन्द घोषणा लगायतका विरोध कार्यक्रमहरुको निर्णयलाई ऐक्यबद्धता सहित समर्थन गर्ने, प्रादेशिक संसद्मा प्रस्तुत प्रस्तावमा विराटनगरलाई राजधानी तोकेकोमा धन्यवाद दिदै कार्यपालिका व्यवस्थापिका लगायतका अन्य संरचनाहरु बिराटनगरदेखि बाहिरी क्षेत्रमा राख्ने प्रस्तावको व्यहोरालाई हटाउनुपर्ने माग राखेका छन् ।
 
बन्द हड्तालको समर्थनमा उत्रिँदै राजधानी मागमा ऐक्यबद्धता जनाउनेहरुमा  मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश नं.१, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस, मोरङ समाजबादी लोकतान्त्रिक ट्रेड युनियन–महासंघ प्रदेश नं.१ रहेका छन्।