काठमाण्डौ । मर्यादा पालक र एक राज्यमन्त्रीका स्वकीय सचिवलाई नै कोरोना संक्रमण भएपछि प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 

गत जेठ १६ गते प्रदेशसभा बैठक बस्नुपूर्व मर्यादापालक सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीका स्वकीय सचिव, प्रदेशसभाका सदस्यको गरी कुल ३४४ जनाको स्वाब संकलन गरिएको थियो । ती स्वाबहरुको पीसीआर परीक्षण गर्दा प्रदेशसभाका ५ मर्यादा पालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै बुधबारदेखि सुरु भएको प्रदेशसभाको चौथो अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

प्रदेशसभाका सभामुख सरोजकुमार यादवले कोरोना संक्रमण अरुमा पनि बिस्तार हुनसक्ने देखिएको बैठक स्थगित गरिएको बताए । 

चिकित्सकहरुले सबै प्रदेश सांसद तथा त्यहाँ कार्यरत सबै मर्यादापालक, कर्मचारी, मन्त्रीका स्वकीय सचिवालयका सदस्यहरुलाई अनिवार्य १४ दिने होम क्वारेन्टिनमा बस्न सुझाव दिएका छन् ।