काठमाण्डौ । सर्वत्र विरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नम्बर २ को चुनावको मिति सार्ने भएको छ । अन्य प्रदेशहरुमा भने तोकिएकै मिति असार १४ मै दोश्रो चरणको चुनाव हुने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका नेताहरुबीचको बैठकले प्रदेश नम्बर २ को चुनावको मिति सार्ने सहमति गरेको हो । राजपाले चुनावमा आउने ग्यारेण्टी नगरे पनि प्रदेश नम्बर २ को चुनाव भने आगामी असोज २ गते मात्र हुने बताइएको छ ।

प्रदेश नम्बर १, ५ र ७ को चुनाव भने असार १४ मै हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए । मन्त्री परिषद बैठक बसेर यही सहमति अनुसार प्रदेश नम्बर २ को चुनाव असोज २ मा गर्ने निर्णय हुनेछ ।

आयोगको चेतावनीलाई बेवास्ता
यसैबीच, चुनावको मिति सार्ने सत्तारुढ दलहरुको प्रस्तावप्रति निर्वाचन आयोगले भने असहमति जनाएको छ । राजपासँग वार्ता गर्नुअघि कांग्रेस माओवादीका शीर्ष नेताहरुले निर्वाचन आयोगका अधिकारीसँग छलफल गरेका थिए । सो क्रममा आयोगका अधिकारीहरुले प्रदेश र संघीय संसदको चुनाव गर्नुपर्ने भएकोले कुनै पनि हालतमा कुनै पनि जिल्लाको चुनाव सार्न नसकिने अडान लिएका थिए । यदि सारिए यसबाट ठूलो राजनीतिक दुर्घटना हुने र संविधान कार्यान्वयनको कार्यतालिका समेत प्रभावित हुनेतर्फ ध्यान दिन सत्तारुढ दलका नेताहरुलाई आग्रह गरेका थिए । तर सत्तारुढ घटकले आयोगको चेतावनीलाई बेवास्ता गर्दै स्थानीय निर्वाचन तेश्रो चरणसम्ममा मात्र सम्पन्न गर्ने रणनीति लिएको हो ।

आयोगका अधिकारीहरुले गृहमन्त्रालयले चुनावी सुरक्षा कायम गराउन सक्छौ भनेर स्पष्ट भनिरहँदा सबै प्रदेशमा एकसाथ चुनाव गराउनुपर्ने बताएका थिए ।