काठमाण्डौ । स्थानीय तहको अन्तिम(तेश्रो) चरणको निर्वाचन प्रदेश नम्बर २ का सबै जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको छ । 

प्रदेश नम्बर २ का सबै जिल्लाका स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार बढी उम्मेद्वार चुनावी मैदानमा छन् । कुल २६ लाख ६४ हजार ९ सय ५० जनाले मतदान गर्दैछन् । 

प्रदेश नम्बर २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५१ गाउँपालिका रहेका छन् । 

बीस बर्षपछि भइरहेको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको स्थानीय संचारकर्मीहरुले बताएका छन् । निर्वाचन आयोगले बिहान ७ बजदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको छ । 

कुल २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्रको सुरक्षाका लागि ६० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

कसले कहाँबाट गरे मतदान ?
यो समाचार तयार पार्दासम्म पूर्व गृहमन्त्री विमलेन्द्र निधिले धनुषाको राजेश्वर निधि उच्च मावि केन्द्रबाट मतदान गरेका छन्। बिहान ८ बजे निधिले मतदान गरेका हुन्। नगराइन नगरपालिकाका लागि निधिले मतदान गरेका हुन्। 

२ नम्बर प्रदेशको निर्वाचन असोज २ मा सार्ने प्रमुख कारक पात्र मानिएका राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मतदान गरेका छन् । उनले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडानम्बर २ स्थित श्री दुुर्गा खोभारी जनता उच्च माविमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । 

यस्तै, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि मतदान गरेका छन् । उनले सप्तरीको राजविराज नगरपालिका २ को ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।