-चन्द्रकान्त खनाल
रुपन्देही । प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने  स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ ।  

मंगलबार प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले बिरुवा रोपेर स्मार्ट कृषि गाउँको शुभारम्भ गरे ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक एक वटा गाउँलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने घोषणा गरी २६ करोड बजेट विनियोजन गरिएको थियो ।

स्मार्ट कृषि  गाउँको शुभारम्भ गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललेले माटोले के उत्पादन दिन्छ र बजारले के लिन्छ  भन्ने मुख्य कुरालाई ध्यानमा राखेर उत्पादन गरेमा कुनै पनि किसान निराश हुनु नपर्ने बताए । पोखरेलले  परम्परागत ढाँचबाट माथि उठेर आधुनिक कृषि खेतीतर्फ लाग्नको लागि समेत सुझाव दिएका छन। 

प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरुले आफ्नो क्षेत्रभित्रका सबै गाउँपालिकासंग छलफल गरी बढी सम्भावना भएको एउटा गाउँ सिफारिस गरेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । 

कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ की मन्त्री आरती पौडेलले एकिकृत रुपमा कृषिको विकासका लागि प्रदेश सरकार लागिपरेको बताइन ।

कार्यक्रममा प्रदेश  सभा सदस्य डा. कृष्ण न्यौपानले बुद्धको मावलीको रुपमा रहेको देवदहबाट सुरुवात भएको प्रदेश नम्बर ५ को स्मार्ट कृषि गाउँले सकारात्मक सन्देश पैदा गरेको बताए । 

यहाँको कम्तीमा ५० बिघा खेतमा ४ वटा किसान समूहमा आवद्ध एक सय ५० जना किसानले पहिलो चरणमा तरकारी खेती गर्नेछन् । स्मार्ट कृषिका लागि माटो सुरक्षा र पोषण, आधुनिक प्रविधि, बजार, सिँचाई र जलवायू परिवर्तनलाई मुख्य आधार मानेर काम गर्नुपर्ने मापदण्ड बनाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले बताए ।

छनोटमा परेका प्रत्येक स्मार्ट कृषि गाउँले सिँचाई, मल, बिउ, प्राविधिक सहयोग, उत्पादनको बजारीकरणमा खर्च गर्ने गरी ५० लाख रुपैयाँका दरले बजेट पाउँछन् । कूल लागतमा २० प्रतिशत स्थानीय तह वा अनुदानग्राहीले लगानी गर्नुपर्ने हुन्छ । स्मार्ट कृषि गाउं कार्यक्रम लगातार चार वर्षसम्म सञ्चालन हुने छ।