-चन्द्रकान्त खनाल
रुपन्देही । प्रदेश ५ मा १३ वटा पार्क निर्माणको हुने भएका छन् । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन पार्क बनाउन थालेको हो ।

क्षेत्र र भौगोलिक अवस्था हेरेर फरक–फरक प्रकृतिका पार्क निर्माण गर्ने मन्त्रालयले जनाएको छ ।

चालु आ.वमा पर्यटन क्षेत्रका लागि मन्त्रालयले १७ करोड ३० लाख रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । त्यसमा जुलोजिकल पार्कदेखि बोटानिकल गार्डेनसम्म बनाउने योजना रहेको  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

त्यसका लागि रूपन्देही, दाङ र बाँकेमा बोटानिकल गार्डेन र पाल्पामा इको पार्क बन्नेछन् । त्यसका लागि १० लाखदेखि २ करोड रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । २ करोड लागतका ८ पार्क निर्माण हुनेछन् । 

मुख्यमन्त्रीको गृह जिल्ला दाङमा ७ वटा पार्क बन्ने भएका छन् । रूपन्देहीमा २ र बाँकेमा एक पार्कका लागि पनि २ करोड रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । रामापिथेकस जुलोजिकल पार्क पाल्पा र रूपन्देहीको सिमानामा निर्माण हुँदैछन् । 

तिलोत्तमामा रहेको वनबाटिकामा बोटानिकल गार्डेन र पूर्वाधार विकासका लागि २ करोड बजेट छुट्याइएको छ । सामुदायिक वन क्षेत्रमा रहेको यो क्षेत्रलाई नमुना बाटिका बनाउन बोटानिकल गार्डेन बनाउने मन्त्री गिरीले बताए । 

बाँकेमा पनि यसै वर्ष मानसरोवरको प्रतिकात्मक स्थलसहित २ करोडको लागतमा बोटानिकल गार्डेन बन्नेछ । मानसरोवरको महत्व बढ्दै गएकाले त्यसको प्रतिकात्मक चिन्हलाई मान्यता दिइएको हो ।

पाल्पाको मुख्य पर्यटकीय क्षेत्रमध्येको रानीमहलमा इको पार्क बन्नेछ । यसका लागि चालु आर्थिक वर्षमा २० लाख रकम विनियोजन भएको छ ।

पाल्पाकै सहिद चुनमाया पार्कको गुरुयोजना बनाउन १० लाख, बर्दियामा सतखलुवा तालछेउमा पार्क, पिकनिक स्पोट र भ्यु–टावर निर्माणका लागि १०, दाङको बिजुवार क्षेत्रमा पार्क र पिकनिक स्पोट निर्माणमा ५० लाख र श्रीकृष्ण मन्दिर धार्मिक वन क्षेत्र उद्यानका लागि २० लाख रुपैयाँ बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।