-चन्द्रकान्त खनाल
रुपन्देही । प्रदेश नम्बर पाँचको सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश भएको छ । 

आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रम ल्याइएको छ । 

पञ्चवर्षीय योजनामा आधारित नीति तथा कार्यक्रममा सरकारले सरकारी, निजी क्षेत्र तथा सहकारी बीचको सहकार्यलाई जोड दिएको छ ।

नीति कार्यक्रम पेश गर्दै प्रदेश प्रमुख झाले आन्तरिक श्रोत परिचालन गरी प्रदेश नम्बर ५ ले गार्हस्थ उत्पादनमा सबै प्रदेशलाई उछिनेको दाबी गरे ।

उनले प्रदेश सरकार संचालनमा आवश्यक जनशक्तिको अभावका बीच सफलतापूर्वक कानुन निर्माणदेखि राजश्व संकलन गर्न सकेको बताए ।

चालु आर्थिक वर्षलाई प्रदेश सरकारले योजना वर्षका रुपमा लिएको बताउंदै उनले स्वर्गद्वारीमा केबलकार, बुटवल–भैरहवा–लुम्बिनीमा मानोरेलको लगानी जुटाउन काम भइरहेको जानकारी गराए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा हरेक गाउँपालिकामा खेलमैदान राखिने, कृषिलाई ब्यवसायीकरण गर्न युवा अभियान थालिने, निजी तथा सहकारी क्षेत्रलाई प्राङ्गारिक कृषि कार्यक्रम गर्न सहयोग गरिने, लसुन, प्याज र मसुरो जस्ता नगदेबालीमा सरकारले निजी क्षेत्रसंगको सहकार्य गर्दै लगानी गरिने उल्लेख छ।

प्रदेश प्रमुख झाले सरकारले साना तथा घरेलु उद्योग स्थापना गर्न युवाहरुलाई प्रोत्साहन गरिने बताउँदै बनजन्य कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरिने बताए । 

बाँकेमा मानसरोबरको आकृतिको पार्क निर्माण गरिने, भैरहवा–बुटवल र कोहलपुर नेपालगञ्जलाई महानगरका रुपमा बिकास गरिने समेत कार्यक्रम ल्याइएको छ । 

प्रादेशिक अस्पतालमा भेन्टिलेटरसहित एम्बुलेन्सको ब्यवस्था, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स, मुक्त कमैया र कमलरिको पुनस्र्थापनाका लागि संघीय सरकारसँग सहकार्य गरिने बताइएको छ । 

यसैगरी, बढीमा १० वटा प्रदेश गौरबका आयोजना छनौट गरी कार्यान्वयन गरिने,  एकीकृत श्रमित आपूर्ति व्यवस्था लागू गर्ने, प्रदेश परियोजना बैंकको स्थापना गरी प्रदेशको समृद्धिका लागि आवश्यक योजनामा लगानी गरिने कार्यक्रममा उल्लेख छ ।

संघिय सरकारले आलटाल गरेका कारण प्रदेश प्रहरी गठनमा भएको ढिलाईलाई चिर्दै प्रदेश सरकारले आगामी वर्षमा प्रदेश प्रहरी गठन सम्बन्धी कानुन बनाउने घोषणा समेत गरेको छ । 

सभामा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा टेबल गरे । नीति तथा कार्यक्रमका बिषयमा प्रदेश ५ का सांसदले मिश्रीत प्रतिक्रिया दिएका छन् । 

धेरैले महत्वकांक्षी कार्यक्रम ल्याइएको टिप्पणी समेत गरेका छन् । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक सुरेन्द्र हमालले नीति तथा कार्यक्रम राम्रो भएको, तर अघिल्लो  वर्षको तुलनामा फरक आउन नसकेको बताए ।

कांग्रेसकै अर्का सांसद डिल्लीबहादुर चौधरीले भने सीमित बजेट बोकेर ठूलो कार्यक्रम प्रस्तुत गरिएको भन्दै कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।
राष्ट्रिय जनता पार्टीका सांसद सन्तोष पाण्डेले सरकारले जनमुखी कार्यक्रम प्रस्तुत गर्न नसकेको टिप्पणी गरे । 

नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिए पनि औद्योगिकरणमा सरकार उदासीन देखिएको रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले बताए ।