रुपन्देही ।  एनआईसी एशिया बैंक स्थापनाको २२ वर्ष पुग्न लागेको अवसर पारेर  बुटवलमा  उच्च ब्याजदरका निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।
 

प्रदेश नम्बर ५ का १२ वटा जिल्लामा सबैभन्दा बढी एनआईसी एशिया बैंकका शाखाहरु रहेका छन् ।

बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले हाल ५१ वटा शाखाहरु १२ वटा जिल्लामा सञ्चालन गर्न सफल भएको जानकारी गराए । 
अधिकांश स्थानीय तहमा पनि एनआईसी एशियाका शाखाहरु रहेको उनको भनाई छ। 

एनआईसी एशियाले प्रदेश ५ मा कुल १९ अर्बको लगानी गरेको जनाएको छ भने कुल १३ अर्ब रकम निक्षेप संकलन गर्न सफल भएको कार्कीले जनाए ।
१ लाख ९० हजार ग्राहकहरु प्रदेश नम्बर ५ मा रहेको र बैंकले १५ खालका नयाँ बचत निक्षेप योजना ल्याएको बताइयो । 

उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाखसम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजारसम्मको औषधी उपचार बिमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । 

साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदा हुने कार्कीको भनाई छ । यो योजनाले सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैकले बिभिन्न चमत्कारिक बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेको आफ्ना २ सय ८१ वटै शाखा कार्यालय तथा अनलाइनबाटै सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा अन्य अतिरिक्त योजना पनि छन् । जसमा नेपालमै पहिलो पटक स्वाईप इनस्वाईप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईनेछन् । 

देशैभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदासमेत प्रदान गरिने गरी चमत्कारिक बचत खाताहरुको योजना ल्याइएको बैंकले जनाएको छ ।

चमत्कारिक बचत योजना अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारिक नारी बचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्नसक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना सार्वजनिक गरेको छ ।

त्यसैगरी, चमत्कारिक विद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारिक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजनाहरु पनि बैकले ल्याएको छ ।