काठमाण्डौ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री  त्रिलोचन भट्ट र प्रदेश सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । 

सार्वजनिक विवरणअनुसार मन्त्रीभन्दा मुख्यमन्त्री भट्ट निकै गरीब देखिएका छन् । 

मुख्यमन्त्रीको नाममा कुनै जग्गाजमीन छैन । तर उनका दाजु शालिग्राम भट्टको नाममा डोटीमा एउटा घर, पत्नी दुर्गादेवीको नाममा डोटीमा अढाई रोपनी जग्गा तथा दाजुकै नाममा डोटीमै १८ रोपनी जग्गा रहेको छ । 

भट्टको बैंक मौज्दात ७० हजार रहेको छ भने १ तोला सुन र १५ तोला चाँदी रहेको छ । एकथान गाई, एकथान मोवाइल र एकथान हातेघडी समेत सम्पत्ति विवरणमा देखाइएको छ । उनको बित्तीय संस्थाबाट लिएको १ लाख ४० हजार र व्यक्तिगत रुपमा लिएको २ लाख ऋण रहेको छ । 

प्रदेश ७ सरकारका अन्य मन्त्रीको सम्पत्ति कति रहेछ त ? हेरौं बुँदागत रुपमा:

प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री
पत्नी लक्ष्मी भट्टको नाममा काठमाण्डौको गोठाटारमा ३ आना २ दाम जग्गामा एउटा घर रहेको छ भने दाजु डम्बरबहादुरको नाममा बाजुराको बुढीगंगामा १२०५ वर्गमिटर जग्गा र एउटा घर, पत्नी लक्ष्मीकै नाममा कैलालीमा ६ कठ्ठा ८ धुर तथा कञ्चनपुर दैजी ८ मा १६९३.१५ वर्गमिटर अर्को जग्गा समेत रहेको छ । दाजु डम्बरको नाममा बाजुरामा ९७८० वर्गमिटरको अर्को जग्गा समेत रहेको छ । 

मन्त्री शाहको बैंकमा ७३ हजार रुपैयाँ मौज्दात रहेको छ भने एकथान स्कूटर समेत रहेको छ । शाह परिवारसँग ५२ तोला सुन, ५०५ तोला चाँदी, विभिन्न कम्पनीका १७१० कित्ता सेयर, एकथान भैसी र एकथान बाख्रा रहेको छ । उनले ७ लाख २० हजार ऋण रहेको देखाएका छन् । 

दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री
मन्त्री सोडारीका पिता लोकबहादुर सोडारीको नाममा कैलालीको गौरीगंगा ५ मा १५ कठ्ठा जग्गा र एउटा घर, अछाम मंगलसेनमा ४ रोपनी जग्गा र एउटा घर, मंगलसेन १४ मा ४ रोपनी जग्गा रहेको छ । यस्तै, पिताको बबिमसाला उद्योगको नाममा धनगढी १ मा १ कठ्ठा जग्गा र एउटा घर रहेको छ । पत्नी गीता सोडारीको नाममा धनगढी १ मा १२ धूर जग्गा, दाजु कल्याणको नाममा गौरीगंगा ५ मा ५ कठ्ठा तथा लम्कीचुहा २ मा २ कठ्ठा जग्गा र त्यसमा बनेको एउटा घर रहेको छ । भाई नरबहादुरको नाममा गौरीगंगामै ६ कठ्ठा जग्गा र त्यसमा बनेको एउटा घर रहेको छ । पत्नी गीताकै नाममा धनगढी १ मै १ कठ्ठा १ धुर जग्गा, त्यहाँ बनेको एउटा घर र अर्को कच्ची घर समेत रहेको छ । 

मन्त्री सोडारीसँग ५ लाख ६० हजार बैंक मौज्दात रहेको छ भने २ थान मोटरसाइकल रहेका छन् । ६ तोला सुन र २० तोला चाँदी रहेको यो परिवारसँग विभिन्न कम्पनीको २० कित्ता सेयर समेत रहेको छ । बाख्रा १० वटा र गोरु २ वटा रहेको छ भने यो परिवारको व्यक्तिगत ऋण १ लाख रुपैयाँ रहेको छ । 

पठानसिंह बोहरा, भौतिक पूर्वाधार विकास मन्त्री
मन्त्री बोहराका पिता भवानसिंहको नाममा डडेलधुराको पर्शुराम ४ मा एउटा घर, पर्शुराम ३ मा अर्को घर, पर्शुराम ४ मै साढे १० रोपनी जग्गा, वडानम्बर ३ मा १६ रोपनी जग्गा, वडानम्बर ४ मै ३ रोपनी अर्को जग्गा रहेको छ । पत्नी मौनादेवीको नाममा अमरगढी ३ मा १ रोपनी ३ आना जग्गा, बाजे गोपी बोहराको नाममा पर्शुराम ३ मा १ रोपनी ६ आना जग्गा रहेको छ । 

बोहराको २ लाख ६४ हजार बैंक मौज्दात छ भने ४ तोला सुन र आधाकेजी चाँदी रहेको छ । एक कम्पनीको ५ हजार ५ सय मूल्यको एक कित्ता सेयर रहेको छ भने २ थान मोवाइल, एकथान गाई, एकथान भैंसी, एकथान बाख्रा र गोरु २ वटा रहेको छ । व्यक्तिगत ऋण १ लाख रुपैयाँ तिर्न बाँकी छ । 

झपटबहादुर बोहरा, आर्थिक मामिला तथा योजना मन्त्री
मन्त्री बोहराकी पत्नी दुर्गा बोहराको नाममा कैलालीको धनगढी ४ मा ४ कठ्ठा १२ धुर जग्गा, लम्कीचुहा ३ मा ४ कठ्ठा १५ धुर जग्गा, टिकापुर ९ मा २ विगाहा १६ कठ्ठा जग्गा, काठमाण्डौ ७ मा १ रोपनी ३ आना बढी जग्गा, काठमाण्डौ ४ मा १६०९ वर्गमिटरको अर्को जग्गा रहेको छ । झपटबहादुर आफ्नै नाममा काठमाण्डौ ४ मा १५९८ वर्गमिटर जग्गा, कैलालीको गोदावरी २ मा ४ रोपनी १० आना जग्गा, टिकापुर ९ मा २ कठ्ठा जग्गा रहेको छ । छोरा कृष्णको नाममा  समेत कैलालीको गोदावरीमा १ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

बोहरा परिवारसँग ६ लाख ४५ हजार बैंकमा मौज्दात रहेको छ भने जिपकार गरी ३ वटा सवारी साधन रहेका छन् । ४० तोला सुन रहेको बोहरा परिवारसँग विभिन्न कम्पनीका ७ लाख २९ हजार ४ सय २९ कित्ता सेयर रहेको छ, जसको मूल्य ७ करोड ५१ लाख बढी रहेको छ । बोहरा परिवारको बैंकिंग ऋण मात्रै १९ करोड ७५ लाख रुपैयाँ रहेको छ । 

माया भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री
मन्त्री माया भट्ट आफ्नै नाममा बैतडीको दशरथचन्द ५ मा १ रोपनी जग्गा र त्यसमा भनेको एउटा घर रहेको छ । उनको बैंकमा ५ लाख मौज्दात रहेको छ भने एकथान मोटरसाइकल, १५ तोला सुन रहेको छ । विभिन्न कम्पनीका २० लाख ६५ हजार बढी मूल्यको २५० कित्ता सेयर रहेको छ भने मौरीका ३५ वटा घार, एकथान अफसेट प्रेस र ठेक्कापट्टा व्यवसाय समेत सम्पत्तिको रुपमा रहेको छ । भट्टलाई २५ लाख बैंकिंग ऋण रहेको छ । 

विनिता चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
मन्त्री चौधरीका पति पर्शुराम चौधरीको नाममा कैलालीको भजनी ४ मा ४ कठ्ठा जग्गा तथा त्यसमा बनेको घर रहेको छ । यस्तै, सोही ठाउँमा १ विगाहा जग्गा समेत रहेको छ । मन्त्री चौधरीको बैंकमा ५० हजार मौज्दात रहेको छ भने एकथान मोटरसाइकल समेत सम्पत्तिको रुपमा रहेको छ । ७ तोला सुन र ३५ तोला चाँदी रहेको यो परिवारसँग विभिन्न कम्पनीको ६२ हजार ५ सय मूल्यको १७५ कित्ता सेयर रहेको छ । १० कठ्ठामा केरा खेती गरेको यो परिवारसँग राँगा २ थान, पावरटिलर ट्याक्टर १ थान समेत सम्पत्तिको रुपमा रहेको छ । यो परिवारले बैंकबाट १ लाख ऋण समेत लिएको छ ।