धनकुटा । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । 

बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले स्थानीयवासी शम्शेर पौडेललाई समाएर पिटेको बताइन्छ । यो घटनापछि भीड उत्तेजित भएको थियो । 

आन्दोलनकारीले बिहान ८ः३० बजेतिर धनकुटा बजार बन्द गराउँदै हिँडेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भण्डारी गाडी लिएर आएका थिए । आक्रोशित भीडले भण्डारी चढेर आएको ना१झ १३१४ नंको गाडी तोडफोड गरिदिए । मदन चोकमा भएको उक्त घटनापछि धनकुटा बजार तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले ११ः४५ देखि अनिश्चितकालीन कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो । 

आन्दोलनकारीले सरकारी कार्यालयमा लगाइएको आगो निभाउन हिँडेका धनकुटा नगरपालिकाको दमकल पनि तोडफोड गरेका छन् । मोरङबाट बिरामी लिन भोजपुर हिँडेको एम्बुलेन्समाथि आक्रमण हुँदा एम्बुलेन्स चालक रञ्जित गिरी सामान्य घाइते भएको थाहाभएको छ । आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा तोडफोड गरी आगजनी गरेका छन् । आगजनीमा कार्यालयका रहेका कम्प्युटर, टेबल, कुर्सी जल्नुका साथै झ्यालका सिसा फुटेका छन् । 

तोडफोड र आगजनी हुन थालेपछि सुरक्षकर्मीसँगको झडपमा परेर नेपाली काँगेसका कोषाध्यक्ष दिनेश राईसहित सातजना घाइते भएका आन्दोलनकारीले जनाएका छन् । 

यसैगरी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय तोडफोड गरिनुका साथै त्यहाँ रहेको एक मोटरसाइकलसमेत आगजनी गरिएको छ । जिल्ला मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत विराटनगर धनकुटा इजलासलगायत एक दर्जन कार्यालयमा तोडफोड भएका स्थानीय प्रशासनले जनाएको छ । 

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन ३३ दिनदेखि जारी आन्दोलन र हडतालका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । बुधबार सरकारले विराटनगरलाई प्रदेश नं १ को अस्थायी राजधानी तोकेको थियो ।