काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतलाई एक कार्यक्रममा सहभागी बन्न अमेरिका पठाउने भनी प्रदेश मन्त्रीपरिषदबाट आएको प्रस्ताव केन्द्रीय सरकारले अस्वीकार गरेको छ । 

आइतबार राति सकिएको मन्त्रीपरिषद बैठकले प्रदेश २ को मन्त्रीपरिषदबाट आएको प्रस्ताव अस्वीकार गर्दै यो बेला अमेरिका जाने उपयुक्त समय नभएको निश्कर्ष निकालिएको हो ।

संचार राज्यमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाका अनुसार जनरल कन्भेसन अफ मधेशी एशोसिएसन इन अमेरिका भन्ने एनजीओको निम्तामा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतलाई अमेरिका भ्रमणमा पठाउन भनी प्रस्ताव आएको थियो । तर, अहिले प्रदेशभित्रै आर्थिक वर्ष ०७५/७६ को नीति, बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण काम गर्नुपर्ने समय परेकोले अमेरिका जान अनुपयुक्त देखिएको टुंगो गरिएको उनले बताए ।