काठमाण्डौ । हावाबाट बिजुली र घरघरमा ग्यासको पाइप जोड्ने जस्ता अभिव्यक्ति दिएर आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा गाडिएका पानी जहाज कुदाएर देखाइदिने दाबी गरेका छन् । 

मंगलबार अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को प्रथम बैठक काठमाण्डौमा उद्घाटन गर्दै प्रम ओलीले आफैं पानी जहाज किन्ने र तीन दिनमा सामान नेपाल भित्र्याउने वातावरण बनाउने दाबी गरेका हुन् । 

उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने र केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने दाबी समेत गरेका सरकारी न्यूज एजेन्सी राससले समाचार लेखेको छ । ‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ।’ उनले भने–‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’

प्रम ओलीले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.५ प्रतिशतमा पुर्याइने दाबी पनि गरे । उनले आगामी आर्थिक वर्षदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै पाटा समेट्ने बताए । उनले अब नेपाललाई अगाडि बढ्न कसैले नरोक्ने उल्लेख गर्दै भने–‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’

प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने दाबी समेत गरे । नेकपा(एमाले)का अध्यक्ष समेत रहेका ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी दिए ।