काठमाण्डौ । गत साता लगातार बढेको बजारबाट प्रफिट बुक गर्ने र मूल्य घटेको बेला सेयर उठाउनेबीच आइतबार टक्कर देखिएको छ । प्रफिट बुक गर्ने र सेयर खरीद गर्न चाहनेबीच टक्कर देखिँदा कारोबारको सुरुवातमा उत्साहप्रद विन्दूले बढेको बजार बन्द हुँदा भने सामान्य बढोत्तरीमा सीमित बन्न पुग्यो । 

बजार बढिरहेको समयमै समेत सेयर बेचेर थोरै भए पनि प्रफिट बुक गर्नेहरुका कारण सुरुवातमा बढेको बजार घटेर बन्द भएको देखिन्छ । 

यो दिन गत बिहीबारको भन्दा औसतमा कारोबार रकम सुधार भएको देखिएको छ । किनभने गत बिहीबार बजारमा २१ करोड भन्दा बढी त नेशनल लाइफको संस्थापक सेयरको मात्र कारोबार भएको थियो । 

आइतबार साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४ करोड ४६ लाख बढीको संस्थापक सेयर किनबेच भए पनि बाँकी कम्पनीको कारोबार भने स्वभाविक देखिन्छ । यो हिसाबले हेर्दा बिहीबारको तुलनामा स्वभाविक कारोबार रकम बढेको हो । यसले बजार मजबुत नै रहेको संकेत गर्दछ । 

गत साता बजारमा २०–२५ करोडमा घुमिरहने कारोबार ब्रेकआउट हुँदै ५० करोड पुगेको थियो । त्यसपछि कारोबार रकममा सुधारका संकेतहरु देखिइनै रहेका छन् । 

आइतबार नेप्से परिसूचक ६ अंकले बढेर ११६१.४५ को विन्दूमा फर्किएको छ । 

राम्रा कम्पनीमा खरीद चाप हुँदा सेन्सेटिभ इण्डेक्स १.०८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४२ अंकको बढोत्तरी भएको छ । 

यो दिन बैंकिङ समूह ७.६१ अंकले बढेको छ भने जलविद्युत समूह ९.१ अंक, बित्त समूह ६.९२ अंक, निर्जीवन बिमा समूह २.४४ अंक, उत्पादनमूलक ३५.४१ अंक, जीवन बिमा समूह ४५.८५ अंक र माइक्रोफाइनान्स समूह १ अंकले बढेको छ । 

होटल समूहमा २०.३६ अंकको पहिरो गएको छ भने विकास बैंक समूहमा ४.६५ अंक र अन्य समूहमा ०.७१ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका १४ लाख ७७ हजार ८९२ कित्ता सेयर ३७ करोड १२ लाख ३६ हजार २५२ रुपैयाँमा किनबेच भएको छ । 

साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४ करोड ४६ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ९३ लाख, एनआइसी एशियाले १ करोड ५४ लाख, अपरत तामाकोशीले १ करोड ४५ लाख,  नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३६ लाख,  एलआइसी नेपालले १ करोड ६ लाख, एनसीसी बैंकले १ करोड ६ लाख बढीको कारोबार गरे । 

एनएमबी बैंकले ९४ लाख, एभरेष्ट बैंकले ८८ लाख र नेको इन्स्योरेन्सले ८० लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आशा लघुवित्त र युनाइटेड फाइनान्सका लगानीकर्ताले कुस्त कमाए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । 

श्रीराम सुगर मिल्सका लगानीकर्ताले पनि ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । 

यो दिन तिनाउ विकास बैंक लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले घट्यो ।