काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से सोमबार ७.४७ अंकले घटेर ११५३.९८ को विन्दूमा सीमित हुन पुगेको छ । 

अघिल्लो दिन सामान्य अंकले बढेको बजारलाई सोमबार सर्टटर्म कारोबारीहरुले घटाएका विश्लेषकहरुको दाबी छ । अघिल्लो साता ५ दिनसम्म लगातार बढेको बजारमा अधिकांश कम्पनीहरुको मूल्य ५ ८ प्रतिशतसम्म बढेको मौकामा सर्टटर्म कारोबारीहरुले बिक्री बढाएका थिए । एकदिन सर्टटर्म कारोबारीको बोलवाला चढेको बजार आइतबार भने खरीदकर्ताको सक्रियताले घट्नबाट जोगिएको थियो । तर, आइतबार सामान्य अंकले बढेको बजारमा प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले बजारमा पुनः गिरावट देखिएको हो । 

यो दिन राम्रा कम्पनीको सेयर बिक्रीमा चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.६२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६५ अंकको गिरावट आएको छ । 

यो दिन बित्त समूह ४.३८ अंक र उत्पादनमूलक ७.६६ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।

बैंकिङ समूह ६.३७ अंकले घटेको यो दिन होटल समूह ७.१४ अंक, विकास बैंक समूह ६.१९ अंक, जलविद्युत समूह १४.३९ अंक, निर्जीवन बिमा समूह ६०.४६ अंक, जीवन बिमा समूह ७६.५३ अंक, माइक्रोफाइनान्स समूह १०.६८ अंक र अन्य समूह ०.६४ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका १३ लाख ९३ हजार ५५८ कित्ता सेयर ३६ करोड ७ लाख ९ हजार ७८० रुपैयाँमा कारोबार भयो ।

यो दिन ६ करोड ३९ लाख बढीको ग्लोबल आइएमई बैंकको संस्थापक सेयर किनबेच भयो । 

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ करोड ४७ लाख बढीको सेयर कारोबार भएको यो दिन एभरेष्ट बैंकले १ करोड २४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ७ लाख, एनएमबी बैंकले ९८ लाख, शिखर इन्स्योरेन्सले ९३ लाख, इन्भेष्टमेन्ट बैंकले ९३ लाख, सिभिल बैंकले ९० लाख बढीको कारोबार गरे । 

राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ९० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा अपर तामाकोशीले ८९ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो । मल्टि पर्पोज फाइनान्स कम्पनी लिमीटेडको सेयर मूल्य ७.१४ प्रतिशतले बढ्यो ।

विगत केही दिनदेखि यूनाइटेड फाइनान्सको मूल्य लगातार बढिरहेको छ । यो कम्पनीले एक वाणिज्य बैंकमा बिलयको सम्झौता गर्न लागेको खबरले मूल्य प्रभावित भएको स्रोतहरु बताउँछन् । 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ५.१६ प्रतिशतले घट्यो ।