काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एकआपसमा गाभिई कारोबार गर्ने प्रस्तावसहित मर्जरसम्बन्धी प्रारम्भिक समझदारी भएको छ ।

समझदारीपत्रमा बिहीबार एक समारोहबीच प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचन, प्रभु बैंकका सञ्चालकहरू रमेशसिंह खड्का, अम्बिका शर्मा लामिछाने, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटलका सञ्चालक/प्रबद्र्घकहरु तथा समृद्धि क्यापिटलका अन्य सञ्चालक/प्रबद्र्घकहरुको उपस्थिति थियो ।

मर्जरपश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको छ । मर्जरपश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुनेछ ।

हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैंकिङ व्यवसायमा अत्याधिक प्रतिस्पर्धा रहेकोले ठूलो पूँजीसहित सबल संस्थामार्फत प्रतिस्पर्धी सेवा प्रदानगर्ने उद्देश्यसहित मर्जरका लागि अगाडि बढाइएको र यसबाट अन्य संस्थालाई पनि मर्जरमा जान प्रेरित गर्ने अपेक्षा गरिएको छ ।