काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताइन् । बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउँदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिइन् ।  जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको र बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृद्धि हुँदै गएको दाबीसमेत गरिन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउँदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए ।  धनपैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँगाउँमा बैंक विस्तार गरिसकेकाले पनि सवैमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने जिकिर गरे ।

कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो ।  कर्णालीका अधिकांश महिलाहरु वित्तीय साक्षरता नभएकै कारण सामान्य हिसाबकिताब राख्न पनि नसक्ने अवस्थामा छन् ।

महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाबकिताब राख्न सक्ने, आफ्नो बचत र ऋण  सही ठाउँमा उपयोग गर्ने लगायतका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।