काठमाण्डौ । गत वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रभु इन्स्योरेन्सको प्रतिकित्ता सेयर ४००.९५ रुपैयाँ कायम भएको छ । अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ ।

कम्पनीले गत आर्थिकाको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयरसँगै ११.३२ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश संस्थाको यही माघ २४ गते हुने २४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ । 

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज शुक्रबार एक दिनका लागि बुक क्लोज गरेको छ । यसको अर्थ हिजो बिहीबारसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।