काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा गत साउन १९ गतेदेखि साउन २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को रु. १ हजार अङ्कित दरको बीस लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद बिक्रीका लागि आह्वान गरिएको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने  कुल रु. ८० करोड ऋण पूँजी रकम (५% अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।

निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७,६०,००० (सात लाख साठी हजार) कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २,३०८ जना आवेदकहरुबाट कूल ७,३०,३६५ (सात लाख तीस हजार तीन सय पैँसट्ठी) कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३,५१,२३१ (तीन लाख एकाउन्न हजार दुई सय एकत्तिस) कित्ता ऋणपत्र विभिन्न कारणवश रद्ध भएको हुँदा रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड भएको छ । रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई कुल तीन लाख उनासी हजार एक सय चौँतिस कित्ता ऋणपत्र बाँडफाँड गरिएकोे तथा व्यक्तिगत तवरबाट बाह्र लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको तीन लाख असी हजार आठ सय छयसट्ठी कित्ता समेत गरी कुल पन्ध्र लाख असी हजार आठ सय छयसट्ठी कित्ता ऋणपत्र बाँडफाँड भएको छ ।

सर्वसाधारण समूहबाट सैँतीस करोड एकानब्बे लाख चौँतिस हजार रुपैया र व्यक्तिगत तवरबाट एक अर्ब अन्ठाउन्न करोड आठ लाख छयसट्ठी हजार रुपैया निष्काशन रकमका लागि आज बिहीबार निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड सम्पन्न भएको छ ।
प्रभु बैंक लिमिटेडका ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुण बढीले आवेदन परेको थियो ।