काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको’ नामक कर्जा योजना आरम्भ गरेको छ।

मूलतः नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालस“गको सहकार्यमा कोभिड–१९ को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेसा र व्यवसायमा संलग्न उद्यमीहरुको विद्यमान आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र यस महामारीमा उनीहरुका पेसा, उद्यम र व्यवसायलाई पुनः सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ सुरु गरिएको बैंकले जनाएको छ। यो कर्जा योजना ती समूहलाई आर्थिक उन्नतिसहित जीवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास पनि रहेको बैंकको भनाइ छ। 

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीका कारण उपत्यकामा टेम्पोलगायत अन्य सार्वजनिक सवारीसाधनमा रोक लगाएसँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बीच बाँचिरहेका छन्। 

नियमित रुपमा भइरहेको आम्दानी गुमाउनुपरेसँगै दैनिक रोजीरोटीको लागि आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घरव्यवहार चलाउन उनीहरु बाध्य छन्। 

अर्कोतिर हाल विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्युटर तथा फर्निचरजस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन्।

यस कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैंकले काठमाण्डौ उपत्यकाभित्रका महिला सफा टेम्पो चालकहरुलाई अधिकतम रु. १ लाख र विद्यालयका शिक्षकहरुलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ। सोही क्रममा बैंकले आज यो कर्जा योजना शुभारम्भको अवसरमा काठमाण्डौ उपत्यकाभित्रका १० जना महिला सफाटेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरेको छ। 

यो कर्जा योजना तोकिएका अन्य पेसा, उद्यम र व्यवसायका साथै काठमाण्डौ उपत्यकाबाहिर पनि क्रमशः लागू गर्दै जाने बैंकले जनाएको छ।

यो कर्जा योजना र यसको प्रक्रियामा ग्राहकले कर्जासँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन् भन्ने अभिप्राय केन्द्रित गरिएको बैंकले स्पष्ट पारेको छ। यस विषमताको घडीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मार खेपिरहेका व्यक्ति र व्यवसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।