काठमाण्डौ । प्रभु टेक्नोलोजीले मोवाइल पेमेन्ट सिस्टमको सुरुवात गर्न लागेको छ ।  

नेपाल राष्ट्र बैंकबाट पहिलोपटक मोवाइल पेमेन्ट सिस्टम संचालनका लागि प्रभु टेक्नोलोजीलाई लाइसेन्स दिइएको हो ।

योसँगै नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । लामो समयको अध्ययनपछि यो प्रकृया अघि बढेको हो । यसका लागि नेपाल दुरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंंकको टोलीले सबै गृहकार्य सम्पन्न गरेको छ । यसका लागि प्रभु टेक्नोलोजीले यो सेवा संचालनको लागि पहिलो लाइसेन्स प्राप्त गरेको हो ।

क्यासलेस ट्रान्जेक्शन(नगदरहित कारोबार)को आवश्यकतालाई यसले सहजीकरण गर्नेछ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गर्ने विश्वास लिइएको छ। 

अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ । तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भित्राउने छ । जसबाट अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ ।

तपाईको मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नुहुन्छ । यो सेवाका लागि करिब १ बर्षदेखि राष्ट्रबैंकले होमवर्क गरेको थियो । विदेशी टेक्नोलोजीलाई नेपालमा भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ ।

के हो मोवाइल पेमेन्ट सिस्टम ?
मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसित र सरल प्रविधि हो । यो प्रविधि अनुसार मोवाइलमै रकम जम्मा गर्न मिल्छ । मोवाइलमा जम्मा भएको रकम फेरि बैंककै खातामा पनि पठाउन सकिन्छ भने बैंक खातामा भएको रकम आफूलाई आबश्यकता परेअनुसार बैंकबाट मोवाइल वालेटमा राख्न सकिन्छ । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ ।

त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन ।

प्रभु टेक्नोलोजीको सेवा कसरी लिने ?
प्रभु टेक्नोलोजी नेपालको बैंकिङ ग्रुप अन्तरगतको प्रभु ग्रुपद्धारा संचालित कम्पनी हो । यस कम्पनीले मोवाइल पेमेन्ट सिस्टम सुरु गरेको हो । जसले मोवाइल पेमेन्ट सिस्टमको सबै जिम्मेवारी लिएको छ । यसको प्रयोगका लागि प्रभु बैंंकमा रहेको खाताबाट आफ्नो मोवाइलमा रकम जम्मा गर्न सकिन्छ भने अन्य बैंकको खातामा रहेको रकम पनि जम्मा गर्न सकिन्छ । साथै मोवाइलमा जम्मा गरेको रकम सिधै कुनै पनि बैंकको खातामा पठाउन सकिन्छ । यसबाहेक विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिले सिधै मोवाइलमा रकम पठाउन सक्नेछ । तर प्रभु बैंकमा खाता रहेको हुनु पर्नेछ । खाताबाट मोवाइलमा पठाइसकेको रकम भने जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न सकिन्छ । त्यसैगरी अन्य बैंकको खातामा रहेको रकम पनि मोवाइलमा पठाउन तथा अर्को बैंकका जम्मा गर्न सकिन्छ ।