काठमाण्डौ । प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम, वित्तीय पहुँचसँग ‘वेल्थ विल्डिङ फाइनान्सियल सर्भिसेज फर नेपाली माइग्रेन्ट वर्कर्स एण्ड देयर रेमिट्यान्स रिसिभिङ फ्यामिली मेम्बर्स’ परियोजना संचालनका लागि सम्झौता गरेको छ । 

यो परियोजना सक्षमको च्यालेञ्ज फण्ड अन्तर्गत संचालन गर्न लागिएको हो । 

भदौ २५ गते काठमाण्डौमा एक कार्यक्रममा दुवै संस्थाका व्यवस्थापन तहका उच्च पदाधिकारीहरु र पत्रकारहरुमाझ प्रभु बैंक लिमिटेडका तर्पmबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त परियोजनाको मुख्य उद्देश्य भनेको दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पुर्याउनु रहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पूरा गर्न उद्देश्यमुलक बचतका साथै अतिरिक्त वित्तीय सेवाहरु (जस्तै क्रेडिट, विमा) र गैरवित्तीय सेवाहरु जस्तै वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षित वर्गलाई प्रदान गर्न सहयोग मिल्ने बताए । 

सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यु.के सरकारको सम्झौताअनुरुप यु.के.एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । यो कार्यक्रम लुईस बर्जरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा डि.एफ.आई.डि.को लागि संचालन गरेको कार्यक्रम हो ।