काठमाण्डौ । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सन र यसका सदस्यहरुले प्रभू बैंकमा खाता खोलेर आर्थिक कारोबार गर्ने भएका छन् । 

यस्तो सम्झौता एनप्याब्सनका अधिकारी र बैंकका अधिकारीबीच बुधबार भएको हो । 

प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा एक समारोहकाबीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका बैंकले जनाएको छ । 

यो सम्झौतासँगै अब एन प्याब्सन र यसअन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफूलाई पायक पर्ने प्रभु बैंक लिमीटेडको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंकमार्फत नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्न सक्नेछन् ।

सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक लिमीटेड हुनेछ । एनप्याब्सनले पनि आफ्ना सबै आर्थिक कारोबार प्रभू बैंकमार्फत गर्नेछ । 

एनप्याब्सनका सदस्य रहेका विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले बैंकमार्फत नै तलब भुक्तानी लिन सक्नेछन् । 

यसैगरी, एनप्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितोपत्र बोर्डमा सूचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ । एनप्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ ।