काठमाण्डौ । जारी छलफल र वार्तामा कुनै चलखेल भएन र कुराहरु मिलेर गए भने केही दिनभित्रै दुई वाणिज्य बैंकबीच मर्जर सम्झौताको खबर सुन्न पाइने भएको छ । 

उच्च स्रोतहरुका अनुसार प्रभू बैंक लिमीटेडले सिभिल बैंकलाई प्राप्तिको मोडलमा गाभ्ने संभावना निकै प्रवल बनेको हो । 

यी दुई बैंकबाट गठित मर्जर कमिटीका अधिकारीबीच पटक पटक कुराकानी भइसकेको छ । छलफल निकै सकारात्मक रहेको र कुरा लगभग मिलिसकेको स्रोतको दाबी छ । 

'केही दिनमै यी दुई बैंकबीच मर्जरको एमओयू हुनसक्ने संभावना बढेर गएको छ ।' स्रोतले भन्यो-'प्रभूले सिभिललाई निकै राम्रो स्वाप रेसियो दिने संभावना देखिन्छ ।' 

सिभिल बैंक लिमीटेडलाई अन्य ७ ८ वटा बैंकसँग समेत मर्जरको छलफल गरिरहेको छ । यो क्रममा प्रभू बैंकसँगको छलफल निश्कर्षउन्मुख देखिएको स्रोतको भनाई छ । 

'सिभिल बैंक राम्रो मूल्य दिने बैंकसँग मर्ज हुन चाहन्छ, प्रभू समूहले त्यो वातावरण बनाउनसक्ने अवस्था देखियो ।' स्रोतले भन्यो-'प्रभू समूह पनि सिभिल बैंकलाई मर्ज गर्ने विषयमा सकारात्मक देखिन्छ ।' 

यी दुई बैंकबीच संचालक समितिमा प्रतिनिधित्व र कर्मचारी समायोजनको विषयमा केही कुरा मात्र मिल्न बाँकी रहेको स्रोत दाबी गर्छ । झिनामसिना भनिएका कुराहरु ठूलो इस्यू बनेर नआए छिटो यही साताभित्रै यी दुई बैंकबीच मर्जर सम्झौता हुनसक्ने दाबी समेत गरिएको छ । 

बिग मर्जरको चर्चा भइरहेको बेला यसअघि ग्लोबल आइएमई बैंक र जनता बैंकले मर्जरको सम्झौता गरिसकेका छन् । 

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्तिको सम्झौता पनि यही बीचमा भइसकेको छ भने सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्तिको सम्झौता पनि गरिसकेको छ । 

बाँकी रहेका अन्य वाणिज्य बैंकहरु मर्जर पार्टनर खोज्ने अभियानमा दौडधूपका साथ लागिरहेका छन् ।