काठमाण्डौ । प्रभू बैंक लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ । यो बैंकले आगामी असार ११ गतेदेखि बिक्री नभएको २२ लाख ३१ हजार २ सय ६५ कित्ता हकप्रद लिलामीमा निकाल्न लागेको हो । निकै धेरै कित्ता एकैपटक लिलामीमा आएकोले बुद्धिमतापूर्वक बिड गर्न सके सस्तोमै यो बैंकको सेयर पाउन सकिने प्रवल संभावना रहन्छ । 

प्रभू बैंकले २०७४ माघ ७ गतेदेखि फागुन २३ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । सो क्रममा सेयरधनीले खरीद नगरेको संस्थापक समूहतर्फको १५ लाख ६० हजार २ सय ३ कित्ता र सर्वसाधारण समूहतर्फ ६ लाख ७१ हजार  ६२ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो  

असार ११ गतेदेखि खुल्ने लिलामीमा असार १८ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । 

प्रभू बैंकको सहायक संस्था प्रभू क्यापिटलको कमलादीस्थित मुख्य कार्यालय, प्रभू बैंकको केन्द्रीय कार्यालय तथा देशभरका विभिन्न कार्यालयबाट बोलपत्र फारम पाउन तथा बुझाउन सकिनेछ ।

दुवै खालको सेयरमा न्यूनतम १०० रुपैयाँ मूल्य राखेर बिड गर्न सकिनेछ । संस्थापक सेयरको हकमा विद्यमान संस्थापकहरुले मात्र आवेदन दिन पाउनेछन् । 

संस्थापक सेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० अंकले भाग जाने गरी  अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने अक्सनको सूचनामा उल्लेख छ ।