काठमाण्डौ । प्रभू इन्स्योरेन्स लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २० करोड ८३ लाख बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १८ करोड १३ लाखमा सीमित थियो ।

कम्पनीले यो अवधिमा ३६ हजार ४९६ बिमा लेख जारी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३५ हजार २०८ बिमालेख जारी गरेको थियो । 

समीक्षा अवधिमा प्रभू इन्स्योरेन्सले १० करोड ३९ लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ११ करोड ११ लाख यस्तो भुक्तानी गरेको थियो । 

यो अवधिमा कम्पनीको खूद नाफा ४ करोड ४४ लाख रहेको छ, अघिल्लो वर्ष यस्तो नाफा ३ करोड २९ लाखमा सीमित थियो ।

कम्पनीको अघिल्लो वर्ष १ करोड २ लाख रहेको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १ करोड ५१ लाख पुगेको छ भने ५ करोड ५७ लाखमा सीमित पुनर्बिमा कमिसनबाट हुने आय बढेर ६ करोड ३ लाख पुगेको छ ।

कम्पनीको ३४ करोड ६९ लाखमा सीमित बिमाकोषको आकार बढी ४६ करोड ५१ लाखको उचाईमा पुगेको छ । यस्तै, ५ करोड ५२ लाखमा सीमित महाविपत्ति जगेडाको आकार बढी ६ करोड ७० लाख पुगेको छ । 

कम्पनीको जगेडाकोषमा निकै राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ५ करोड ७ लाख रहेको कोषको आकार बढी १९ करोड ६३ लाखको उचाईमा पुगेको हो । यसरी जगेडाकोषमा कम्पनीले २८७ प्रतिशतको छलाङ मारेको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी  ४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०१ गुणा कायम भएको छ । यी सूचक पछि परिवर्तन हुनेछन् ।