काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ का लागि प्रभू बैंकले घोषणा गरेको ८ प्रतिशत बोनस सेयर पाउने मन छ ? यदि छ भने तपाईले आजसम्म यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ । किनभने कम्पनीले ८ प्रतिशत बोनस सेयर वितरण लगायतका प्रस्तावसहित आह्वान गरेको वार्षिक साधारणसभाका लागि भोलिदेखि बुक क्लोज गर्दैछ । 

कम्पनीले फागुन १९ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभामा गत वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव लैजाँदैछ । 

यस्तै, बैंकमा हाल कायम सर्वसाधारण र संस्थापकको  ६१.३१: ३८.६९ प्रतिशतको सेयर संरचनालाई परिवर्तन गरी ५५ः४५ मा रुपान्तरण गर्ने प्रस्ताव समेत पारित गर्ने योजना छ । 

बण्ड र डिवेञ्चर निश्कासनको अजेण्डामाथि समेत छलफल हुने सभामा मर्जर र एक्वीजिसनका लागि संचालन समितिलाई अधिकार प्रत्यायोजन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत वर्षको वासलात पारित गर्ने लगायतका प्रस्ताव समेत पेश हुनेछन् । 

बैंकले साधारणसभा प्रयोजनका लागि फागुन ६ गते(भोलि) बुक क्लोज गर्नेछ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन बुक क्लोजको एक दिनअघि अर्थात आजसम्म बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।