काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चालु आर्थिक वर्षमा सेयरधनीलाई १७ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १४ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफा आर्जनको यो गति चौथो त्रैमाससम्म पनि कायम रहे र नियामकीय व्यवस्थाका लागि थप रकम व्यवस्था गर्नु नपरेमा प्रभू बैंकको यो वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ५२ करोडको हाराहारीमा पुग्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड छ ।यो बैंकले २०७५ फागुन १९ गते साधारणसभा सम्पन्न गरी ८ प्रतिशत बोनस सेयर पारित गरे पनि चुक्तापुँजीमा समायोजन नगरी तेश्रो त्रैमासको रिपोर्ट प्रकाशित गरेको देखिन्छ । ८ प्रतिशत बोनस सेयर समायोजन गर्दा बैंकको चुक्तापूँजी ८ अर्ब ८८ करोड पुग्नेछ । यसरी हेर्दा बैंकले यो वर्ष सेयरधनीलाई १७ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको हो । 

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्ष बैंकले अधिकांश सूचकमा आकर्षक प्रगति गरेको छ । अघिल्लो वर्ष ९१ करोड ७० लाखमा सीमित नाफा बढाएर यो वर्ष १ अर्ब ४४ करोड पुर्याएको छ भने १ अर्ब ६७ करोडमा सीमित संचालन मुनाफा बढाएर २ अर्ब ९ करोडको उचाई चुमाएको छ । 

व्यवसाय विस्तारमा ध्यान दिएको र कस्ट अफ फण्ड घटेका कारण प्रभू बैंकको खूद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा ७३.३१ प्रतिशतले बढेर १ अर्ब ९४ करोडबाट ३ अर्ब ३७ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ७ अर्ब निक्षेप संकलन गरी ८६ अर्ब १६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १०.१८ प्रतिशतले बढाएको बैंकले कर्जा भने १८.०६ प्रतिशत बढीले बिस्तार गरेको छ ।

अघिल्लो वर्ष ३ अर्ब ४१ करोड रहेको बैंकको रिजर्ब ३ अर्ब ७० करोड पुगेको छ भने ३.९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर २।४२ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

चैत मसान्तसम्म यो बैंकको सीसीडी अनुपात ७५.८२ प्रतिशत मात्र देखिएको छ भने आधार दर घटेर एकल विन्दू ९.१६ प्रतिशतमा सीमित भएको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २३.५२ रुपैयाँ पुगेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ५८.३६ प्रतिशतले बढी हो । तर, ८ प्रतिशत बोनस सेयर समायोजनपछि कायम हुने चुक्तापूँजीको दरले हिसाब गर्दा इपीएस २१.९२ रुपैयाँ कायम हुनेछ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७०.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.५८ गुणा कायम भएको वित्तीय विवरणमा देखाइएको छ । तर, ८ प्रतिशत बोनस सेयर समायोजनपछि कायम हुने पूँजीको आधारमा हिसाब गर्दा प्रतिसेयर नेटवर्थ १५७.५५ र पीई १३.०९ कायम हुने देखिन्छ ।