काठमाण्डौ । प्रभू बैंकले पनि रु. १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । 

यो बैंकले '१०% प्रभू बैंक डिवेञ्चर-२०८६' जारी गर्ने भएको हो । 

एकहजार रुपैयाँ प्रति इकाई दरको डिवेञ्चरलाई इक्रा नेपालले 'इक्रा एनपी एलबीबीबी' रेटिङ प्रदान गरेको छ । 

यस्तो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । जोखिमको दृष्टिमा यस्ता उपकरणहरु मध्यम क्रेडिट जोखिम भएको मानिने इक्रा नेपालले जनाएको छ । 

प्रभू बैंकले जारी गर्ने भनिएको ऋणपत्रमा वार्षिक १० प्रतिशतको दरले ब्याज पाइनेछ । बैंकको ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ । 

दश वर्षे अवधिको ऋणपत्र २०८६ सालमा परिपक्व हुनेछ । 

पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट ऋणपत्र निश्कासन गरी लङटर्म प्रकृतिको स्रोत व्यवस्थापन गर्न भनेपछि वाणिज्य बैंकहरु यो उपकरणतर्फ आकर्षित भएका हुन् । 

ऋणपत्र निश्कासनको बाध्यता नै आएपछि एकपछि अर्को गर्दै वाणिज्य बैंकले निश्कासन गरिरहेका भए पनि लगानीकर्ताबाट भने राम्रो रेसपोन्स आउन सकेको छैन । 

अस्थिर वित्तीय ब्याजदर, उतारचढावपूर्ण ब्याजदर लगायतका कारणले समेत लगानीकर्ताहरु लामो अवधिको यस्तो उपकरणमा लगानी गर्न खुलेर आइसकेका छैनन् । 

यस्ता उपकरणहरुमा लामो समयसम्म एउटै दरमा ब्याज पाइने भएकोले रिटर्नको ग्यारेण्टी हुन्छ भने दोश्रो बजारमा जस्तो जोखिम बहन गर्नुपर्दैन । किनेको ऋणपत्र दोश्रो बजारमा कारोबारमा आएको खण्डमा बेचेर चाहेको बेला लगानीलाई तरल समेत बनाउन सकिन्छ । 

बैंकहरुले लामो अवधिका लागि कर्जा दिइरहे पनि लामो अवधिको निक्षेप र यस्तै प्रकृतिको उपकरण जारी नगर्दा उनीहरुको दायीत्व र सम्पत्तिको मिसम्याच बढिरहेका कारण पनि पछिल्लो समय ऋणपत्र निश्कासनको लहर चलेको हो ।