काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा बैदेशिक मुद्रा सटही सुविधालाई मोवाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन प्रभू इजी फोरेक्स “Prabhu Easy Forex” सञ्चालनमा ल्याएको छ ।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रक्रियालाई प्रविधिमैत्री तथा सरलीकृत गर्नका लागि प्रभू इजी फोरेक्स एप्लीकेसन अति नै उपयोगी हुने विश्वास लिइएको छ । 

प्रभू इजी फोरेक्स मोवाइल एप हाल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुनेछ । उक्त एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीका लागि अनलाइन आवेदन गर्न सकिनेछ। 

आवेदकलाई बैंकबाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ । त्यसपछि आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सकिने बताइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल स्थित बैंकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ । 

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोवाइल एपबाट ग्राहकहरुको समय बचत हुने तथा बिनाझण्झट अनलाईन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले ग्राहकहरुले यसबाट अधिकतम् लाभ लिने बैंकको दाबी छ ।