काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम श्रावण १७ गते सम्पन्न भएको छ । 

काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स”मा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ । 

साथै साउन १७ गतेदेखि कम्पनी स्थापनाको २३ औं वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । २४ औं स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताउँंदै व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसुचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको बताए । 

अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बीमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताउँदै बिगत वर्ष बीमाको पहुँच ६-७ प्रतिशत जनतामा रहेकोमा आ.व.२०७५/०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताउँदै मुलुकको कुल गार्हस्थ उत्पादनमा बीमाक्षेत्रको योगदान २ प्रतिशत रहेको बताए । 

साथै बीमा कम्पनीको पूँजी बृद्धिका लागि तोकिएको समय सीमा समाप्त भएकोले अब तोकिएको चुक्तापुँजी पुर्याउन नसक्ने कम्पनीका लागि कुनै पनि समय सीमा थप नगर्ने तथा पुँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधिसकिएको बताउँदै बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृति बिकासका लागि सबै बीमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बीमा तालिम केन्द्र स्थापना गरिसकिएको बताए । 

सोही कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडि बढिरहेको बताउँदै कम्पनीले बीमाको बिकासका लागि नयाँ/नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको र सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको बताए । 

साथै कम्पनीका सञ्चालक राजेन्द्र मल्लले पुनर्बीमा सम्वन्धी सम्पूर्ण कारोवार मुलुकभित्र नहुने हुनाले अझै पनि ठूलो रकम बिदेशिने गरेकोले नेपालमा रहेको पुनर्बीमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गरे । 

कम्पनीको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवशाय बृद्धि गरेकोे बताउँदै ग्राहकवर्गको सुविधाको लागि नगदरहित दाबी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बीमालेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि अनलाइन सिस्टमको विकास गरेको बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए ।

हाल कम्पनीको चुक्ता पूजी रु. १ अर्व ५० लाख ७६ हजार पुगेको छ । साथै केन्द्रिय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।