काठमाण्डौ । प्रभू बैंक लिमीटेडको रु. १ अर्बको ऋणपत्र निश्कासन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ । 

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निश्कासनका लागि आवेदन दिएको थियो । बैंकको आवेदनलाई बोर्डले स्वीकृत गरेसँगै अब केही दिनमै ऋणपत्र निश्कासन गर्ने तयारी थालिएको बैंक स्रोतले जनाएको छ । 

बैंकले '१०.२५% प्रभू बैंक डिवेञ्चर' नामको ऋणपत्र निश्कासन गर्न लागेको हो । 

रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ भने ६ लाख इकाई प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । 

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा १०.२५ प्रतिशत ब्याज पाउनेछ र ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

लङटर्मका लागि लगानी गर्न चाहनेहरुका लागि ऋणपत्र लगानीको राम्रो विकल्प समेत हो । बजारको ब्याजदर जति नै उतारचढाव भए पनि यस्तो उपकरणमा लगानी गर्नेले निश्चित(१०.२५ प्रतिशत) ब्याज निरन्तर पाउनेछन् । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै पछिल्लो समय बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् । 

बैंकहरुले ऋणपत्र निश्कासन गरी लामो अवधिको रकम तान्दा यसले लामो समयदेखि बैंकहरुको निक्षेप र कर्जाबीचमा बढ्दो मिसम्याचलाई कम गर्ने विश्वास गरिएको छ ।