काठमाण्डौ । वित्तीय अवस्था र ब्राण्ड राम्रो भएका बैंकहरुको हकमा ऋणपत्रजस्ता वित्तीय औजार बिक्री गर्नु गाह्रो कुरा होइन भन्ने कुरा प्रभू बैंकले देखाएको छ । 

यो बैंकले निश्कासन गरेको रु. १ अर्ब बराबरको ऋणपत्र बिक्री अवधि समाप्त हुनुअघि नै बिक्री भएको छ । धेरै कम बैंकहरुले मात्र ऋणपत्रमा यस्तो रेकर्ड राख्न सकेका छन् ।

यो बैंके कात्तिक २१ गतेदेखि एकअर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गरेको थियो । जसमा छिटोमा कात्तिक २५ गतेभित्र र ढिलोमा मंसिर २० गतेभित्र आवेदन दिनुपर्ने समयसीमा थियो । तर, बैंकले समयअगावै सबै ऋणपत्र बिक्री भएपछि शुक्रबार बाँडफाँडको काम पनि सकेको छ । 

प्रभु बैंकले ४० करोडरुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कासनको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाखकित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि खुला गरेको थियो । 

रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम् ४,००,००० कित्तासम्मको लागि आवेदन गर्न पाउने व्यवस्था थियो । 

ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्रा नेपाल एबीबीबीको रेटिङ प्रदान गरेको थियो । 

बैंकले एक विज्ञप्ति प्रकाशन गरी समयसीमाअघि नै ऋणपत्र खरीद गर्ने सबै लगानीकर्तामा आभार समेत प्रकट गरेको छ ।