काठमाण्डौ । सेयर बजारमा आउन चाहने नवप्रवेशी लगानीकर्तालाई बैंकका शाखाहरुले मोफसलमा अत्यधिक दुःख दिने गरेका छन् ।

नेशनल मेडिकल कलेज वीरगञ्जका लेक्चरर अनुप शमसेर बुढाथोकीले आइपीओमा लगानी गर्न आफ्नी श्रीमती नितिशा पौडेलको डिम्याट खाता खोल्न नेपाल बैंकस्थित वीरगञ्ज शाखामा सम्पर्क गर्दा १० दिन समय लाग्ने जानकारी दिए । यो जानकारी पाएपछि खिन्न हुँदै उनी घरतर्फ फर्किए । 

यस्तै बराहक्षेत्र नगरपालिका कालाबञ्जर ५ प्रभु बैंक शाखामार्फत प्रभू क्यापिटलमा डिम्याट खाता खोल्न जाँदा फाराममा बिर्न बहादुर बस्नेत लेखे पनि बैंकले बिरन लेखिदिएपछि डिम्याट नम्बर पाए पनि सीआरएन नम्बर लिन नाम नमिलेकाले आइपीओमा लगानी गर्न पाएनन् । बिर्न बहादुर बस्नेत छोरा टंक बस्नेतले निवेदनसहित रु.१०० तिरेर नाम सच्याउन दिइएको १ महिना बितिसक्दासमेत प्रभु क्यापिटलले हालसम्म नसच्याइदिएकाले अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा लगानी गर्न नसकेको गुनासो पोखे ।

नयाँ डिम्याट खाता खोल्न मानिसहरुको चापअनुसार सोही दिन वा ३ दिनभित्रै गर्न सकिने एक डीपी हाउसका कर्मचारीको भनाइ छ । 

मोफसलमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले बचत र ऋणलाई प्रमुख प्राथमिकता दिने गरेका छन्, सेयर सम्बन्धी कामहरुलाई पूर्ण बेवास्ता हुने गरेको लगानीकर्ताको गुनासो छ । 

धरानस्थित एक वाणिज्य बैंकका शाखा प्रमुखले मुख्य कार्यालयबाटै सेयरसम्बन्धी काम गर्न छुट्टै कर्मचारीको व्यवस्था हुनुपर्ने जिकिर गरे । बैंकका शाखाहरुमा सेयरसम्बन्धी काम गर्न मुख्य कार्यालयहरुले ध्यान दिनुपर्नेमा उनको जोड छ । 

बिर्न बहादुर बस्नेतका छोरा टंक बस्नेतले आफूले बिर्न नै लेखेको तर बैंकले गल्ती नाम प्रविष्टी गर्दा यत्रो दिनसम्म समस्या र दुःख पाइरहेको दाबी गरे । प्रभु बैंक कालाबन्जार शाखाका शाखा प्रमुख प्रसन्न भण्डारीले ७–८ पटक क्यापिटललाई इमेल गरिसकेको बिजशालालाई जानकारी दिए । 

शाखाबाट क्यापिटलका विभिन्न अधिकारीहरुलाई नाम सच्याइदिन इमेल पठाइएको जिकिर गरेका उनले क्यापिटलकै कारणले नाम सच्याउन ढिला भइरहेको बताए । 

बैंकले नै गलत नाम प्रविष्टी गरेको शाखा प्रमुख भण्डारीले स्वीकारे । गलत नाम प्रविष्टी गर्दा डीपीले नै रु.१०० सिडिएससीलाई शुल्क तिरी सच्याउनुपर्छ । यदि सेवाग्राहीले नै गलत गरेको भए मात्र उसले रु १०० जरिवाना तिरी नाम सच्याउनुपर्छ । उल्टै रु १०० जरिवाना पनि तिराउने र करिब १ महिना बितिसक्दासमेत नाम सच्याउन क्यापिटल र बैंकसँग सम्पर्क गर्दा धेरै दुः ख पाएको बस्नेतको भनाइ छ ।  

यस विषयमा क्यापिटलका कृष्ण गिरीसँग बुझ्ने प्रयास गर्दा बैंककै शाखाबाट इमेल नआएको दाबी गरे । यतिमात्रै हैन, मोफसलका बैंकहरुबाट डिम्याट खाता नवीकरण शुल्क पठाएको कयौं दिन बित्दा समेत नवीकरण नभएर लगानीकर्ताले दुःख पाइरहेका छन् ।

बैंक र क्यापिटलको समन्वय र तालमेल नहुँदा बस्नेत जस्ता लगानीकर्ताले महिनौं दुः ख पाइरहेको अवस्था छ ।

यस विषयमा सम्बन्धित नियामक निकायले समेत चासो लिई मोफसलमा डीपी सेवा वा सेयरसम्बन्धी सेवा चुस्त दुरुस्त राख्न आवश्यक छ । पछिल्लो समय पूँजीबजारमा नयाँ लगानीकर्ताको प्रवेश ह्वात्तै बढ्दा सेवाप्रवाहमा समेत नियमित अनुगमन र सुपरीवेक्षणको खाँचो रहेको जानकारहरु बताउँछन् ।