काठमाण्डौ । प्रमाणपत्र तह उतीर्ण गरेर शिक्षण तालिम समेत लिई बेरोजगार बसिरहनु परेको छ भने अब चिन्ता नलिनुहोस् । शिक्षक सेवा आयोगले सोमबार सूचना जारी गर्दै देशका  पाँचवटै विकास क्षेत्रमा सेवा गर्ने गरी विभिन्न ९ विषयमा १ हजार १ सय १७ निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन मागेको छ । 

आयोगले सबैभन्दा धेरै अंग्रेजी विषयको शिक्षक मागेको छ । त्यसपछि सामाजिक, नेपाली, गणित विज्ञान र विज्ञान विषयको शिक्षक मागिएको छ । 

खुल्ला बाहेक महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांगता र पिछडिएको क्षेत्र जस्ता आरक्षण कोटाका लागि समेत ठूलो संख्यामा शिक्षक मागिएको हो । 

पाँचवटै विकास क्षेत्रका सामुदायिक विद्यालयमा ०६३ सालदेखि नै रिक्त रहेको पदमा आयोगले दरखास्त आह्वान गरेको सूचनामा प्रष्ट्याइएको छ । 

कुन विषयका लागि कति शिक्षक मागियो ?
अंग्रेजी : ३२६
सामाजिक : १७२
नेपाली : १६२
गणित विज्ञान : १५५
विज्ञान : १५३
गणित : १४२
संस्कृत व्याकरण : ४
कम्प्युटर विज्ञान : २
संस्कृत भाषा : १

कुन क्षेत्रका लागि कुन बिषयको कति शिक्षक माग भएको छ, समाचारको तल रहेको जेपीजी फोटोमा डबल क्लिक गरेर विस्तृतमा हेर्न सक्नुहुनेछ । 

सूचनामा जनाइए अनुसार विभिन्न विकास क्षेत्रको दरखास्त फारम संकलन केन्द्रहरु निम्न अनुसार तोकिएको छः
पूर्वाञ्चल 
क्षेत्रीय शिक्षा निर्देशनालय, धनकुटा
जिल्ला शिक्षा कार्यालय, इलाम
जिल्ला शिक्षा कार्यालय, मोरंग
जिल्ला शिक्षा कार्यालय, उदयपुर

मध्यमाञ्चल 
क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडा
जिल्ला शिक्षा कार्यालय ललितपुर
जिल्ला शिक्षा कार्यालय, सिन्धुली
जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोक

पश्चिमाञ्चल
क्षेत्रीय शिक्षा निर्देशनालय, पोखरा
जिल्ला शिक्षा कार्यालय, रुपन्देही
जिल्ला शिक्षा कार्यालय, तनहुँ
जिल्ला शिक्षा कार्यालय, बाग्लुंग

मध्यपश्चिमाञ्चल
क्षेत्रीय शिक्षा निर्देशनालय, सुर्खेत
जिल्ला शिक्षा कार्यालय, दांग
जिल्ला शिक्षा कार्यालय, जुम्ला
जिल्ला शिक्षा कार्यालय, बाँके

सुदुरपश्चिमाञ्चल
क्षेत्रीय शिक्षा निर्देशनालय, दिपायल
जिल्ला शिक्षा कार्यालय, कैलाली
जिल्ला शिक्षा कार्यालय, डडेल्धुरा

निमाविको शिक्षक बन्न इच्छुकले आवश्यक कागजातसहित आउदो असार १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सबै समूहका लागि परीक्षा दस्तुर ७ सय र अतिरिक्त समयका लागि थप ५ सय तोकिएको छ । सबै बिषयको लिखित परीक्षा भदौ ११ गते  बिहान ८ बजेदेखि तोकिएको केन्द्रहरुमा हुनेछ । 

सबै बिषयमा कम्तीमा प्रमाणपत्र तह उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेकोले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।