काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले बल प्रयोग गरेरै भए पनि कारोबार खुलाउने पक्षमा देखिएको छ ।

भद्रकालीस्थित नेप्से परिसरमा तनाव हुनसक्ने अवस्था भने टरेको छ । तर, कारोबार बन्दको माग गर्दै पुगेका लगानीकर्ताका नेताहरुलाई नेप्से प्रमुख चन्द्रसिंह साउदले सुरक्षाकर्मीलाई साक्षी राखेर मात्रै भेट दिएका छन् । 

लगानीकर्ताका नेताहरुको अहिले नेप्से प्रमुख साउदसँग उनकै कार्यकक्षमा चर्काचर्की परिरहेको छ । 

इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले प्राकृतिक प्रकोप, राष्ट्रिय संकट, काबु बाहिरको परिस्थितिमा बोर्डलाई जानकारी दिई निश्चित समयका लागि कारोबार रोक्न सकिने व्यवस्थाको किन उल्लंघन गरेको ? भन्दै प्रश्न गरेका थिए । उनले प्रधानमन्त्री, उपप्रधानमन्त्रीबाट निर्देशन आउँदा समेत नेप्सेले अटेर गरेर लगानीकर्ताको सम्पत्तिमाथि खेलवाड गर्न खोजेको आरोप लगाए । 

नेप्से प्रमुख साउदले भने राष्टिय संकट वा प्राकृकित विपतिको अवस्था अहिले नभएको भन्दै लगानीकर्ताको आक्रोशलाई साम्य पार्न खोजेका थिए । 

साउदले आज धितोपत्र बोर्डसँग बैठक रहेको र त्यसपछि आवश्यक निर्णय हुने बताएका थिए । साउदले भने-'सेबोनले बन्द गर वा खोल भन्नुपर्छ । अहिलेसम्म केही भनेको छैन ।' उनले नेप्से संचालक समितिले बजार खुलाउने निर्णय लिएकोले सोही अनुसार कारोबार खुलेको जिकिर समेत गरे ।  

लगानीकर्ताका नेतालाई नेप्सेले आइनबार हतपत कार्यालयमा प्रवेश गर्न समेत दिएको थिएन । नेप्सेले लगानीकर्ताको विरोध छल्न भन्दै सचिवालय अगाडि सुरक्षाकर्मी तैनाथ गरेको थियो । लामो समयको लगफत्तीपछि मात्र लगानीकर्ताका नेता प्रहरी निरीक्षकसँगै नेप्से प्रमुखको कार्यकक्षमा प्रवेश गर्न पाएका थिए । 

लगानीकर्ताका पाँचवटा संगठनका अध्यक्ष प्रधानमन्त्रीको सम्बोधनको कार्यान्वयनका लागि समेत सेयर कारोबार बन्द हुनुपर्ने माग गर्दै नेप्से पुगेका हुन् । उनीहरुले त्यहाँ जानुअघि लगानीकर्ताहरुको नाममा एक संयुक्त अपील समेत जारी गरेका थिए । अपीलमा उनीहरुले नेप्सेले जबरजस्ती गर्न खोजे त्यसविरुद्ध कानूनी उपचार खोज्ने र त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए । 

तर, नेप्सेले लगानीकर्ताको चेतावनीलाई पन्छाउँदै प्रिओपन सेसनबाटै कारोबार खुलाएको थियो । हालसम्म नेप्सको वेबसाइटमा बजार खुलेको स्टाटस देख्न सकिन्छ । तर, ब्रोकरहरुले खरीदबिक्रीको आदेश प्रविष्ट गरेका छैनन् । नेप्सेले कारोबार खोले पनि ब्रोकरको सिस्टम बन्दै छ ।