काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ ।

समीक्षा अवधिको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको हो ।

बैंकले समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा ५१.७९ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । बैंक यो वर्ष २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आजृन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्ष २ अर्ब ९८ करोड रुपैयाँमा सीमित बैंकको सञ्चालन मुनाफा यो वर्ष बढेर ४ अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष ४ अर्ब ३२ करोड रुपैयाँमा रहेको बैंकको खुद ब्याज समीक्षा अवधिमा बढेर ५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष १ अर्ब ५० करोड रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकले यो वर्ष रिजर्बको आकार १७.७२ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको रिजर्बको आकार ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ९ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ८२ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८२ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात १.१२ प्रतिशतमा सीमित गरेको छ । अघिल्लो वर्ष यो अनुपात १.४० प्रतिशत रहेको थियो ।

बैंकको कस्ट अफ फन्ड ६.५५ प्रतिशत रहेको छ भने सीडी रेसियो ७५.५९ प्रतिशत रहेको छ । बैंकको आधार दर ९.०५ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ ।